धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम संसदीय दलको नेताबाट राजेन्द्रसिंह रावललाई हटाउने कसरत भएको छ । पूर्वमुख्यमन्त्रीसमेत रहेका रावल पटकपटक विवादित बनेको र त्यसले पार्टीलाई नै क्षति भइरहेको भन्दै उनलाई दल नेताबाट हटाउने कसरत भइरहेको हो ।
एमाले सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा र कैलाली इञ्चार्ज नारदमुनि राना लगायतका नेताहरु दल नेता फेर्नका लागि गृहकार्यमा जुटेका हुन् । दल नेता रावलले पटकपटक पार्टीलाई क्षति पुग्ने गतिविधि गरेको भन्दै उनीहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुसंग छलफल पनि गरेका छन् ।
पार्टीका नेताकार्यकर्तालाई बेवास्ता गरेको, प्रदेश सरकारले गर्ने राजनीतिक नियुक्तिमा पनि पार्टीमा छलफल नगरी एकलौटी गरेको, कानुनविपरीत सरकारी गाडीको सुविधा लिएको र जथाभावी रुपमा सार्वजनिक अभिव्यक्ति दिएको भन्दै दल नेताबाट रावललाई हटाउनुपर्ने तर्क लेखराज लगायतका नेताहरुले लागेका छन् ।
एमालेकै केही प्रदेशसभा सदस्यहरुले पनि ३० चैतमा भएको प्रदेश कमिटी बैठकमा दल नेता रावलको गतिविधि ठिक नभएको बताएका थिए । ‘केही प्रदेशसभा सदस्यहरुले संसदीय समितिको बैठकमा पनि पार्टीलाई क्षति पुग्ने गतिविधि नगर्न दल नेता रावललाई आग्रह गर्दै आएका थिए,’ एमाले प्रदेश कमिटीका एक सदस्यले भने, ‘रावल झनझन विवादित गतिविधि गर्न थालेपछि दल नेता फेर्ने अन्तिम गृहकार्य भइरहेको हो ।’
दल नेताबाट रावललाई हटाएर अहिलेका उपनेता सन्तोष शर्मा थापालाई बनाउने गृहकार्य भइरहेको एमालेभित्र चर्चा छ । सामाजिक विकास समितिका सभापतिसमेत रहेका धर्मराज पाठकको नाम पनि चर्चामा छ । एमाले सुदूरपश्चिमका एक प्रदेशसभा सदस्यका अनुसार भने केन्द्रले नाम नै तोकेर पठाएपछि मात्रै दल नेता परिवर्तन सम्भव रहेको बताए । ‘रावलको पक्षमा प्रदेशसभा सदस्यहरु नभए पनि उनलाई हटाएर अन्य कसैलाई दल नेता बनाउँदा एकले अर्कोलाई स्वीकार गर्नसक्ने अवस्था नहुन पनि सक्छ,’ ती प्रदेशसभा सदस्यले भने ।
विवादित गतिविधिले रावल भए कमजोर
रावल कञ्चनपुरबाट समानुपातिक प्रणालीमार्फत प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । ११ जना प्रदेशसभा सदस्य रहेको एमालेले सर्वसम्मत रुपमा रावललाई नै संसदीय दलको नेता बनायो । केन्द्रमा एमाले र माओवादीबीच सत्ता समीकरण बनेपछि सुदूरपश्चिम एमालेको भागमा परेको थियो ।
२०७९ सालको २७ पुसमा रावल मुख्यमन्त्रीमा नियुक्त भए । रावलले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । २६ माघमा मुख्यमन्त्री रावलले विश्वासको मत लिन प्रदेशसभामा गरेको प्रस्तावमाथि छलफलको प्रस्ताव नै बहुमतले अस्वीकृत भएपछि उनी पदमुक्त भएका थिए ।
मुख्यमन्त्री भइसकेका रावल पछिल्ला चार महिनादेखि बढी विवादमा तानिएका छन् । एमाले सुदूरपश्चिमका एक नेताका अनुसार रावलले आफ्नै पार्टीका सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टलाई तीन पटक हातपातको प्रयास गरेका छन् । ३० चैतमा एमाले सुदूरपश्चिमको प्रदेश कमिटी बैठकमा इञ्चार्ज भट्टले पनि दल नेता रावलले पटकपटक आफूमाथि आक्रमण गर्न खोजेको बताएका थिए ।
कानुनविपरीत गाडीको सुविधा लिएपछि रावलको पार्टीभित्रै आलोचना बढेको थियो । उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सुपप्र ०१–००१ झ ३२८ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए । कानुनी रुपमा पूर्वमुख्यमन्त्री वा सत्ता पक्षको संसदीय दलको नेतालाई गाडी प्रयोगको सुविधा छैन ।
उक्त गाडी उनले गत १२ माघ शनिबारको दिन प्रयोग गरिरहेको अवस्थामा कचनपुरमा युवाहरूले रोकेका थिए । सार्वजनिक बिदाको दिन अनुमतिबिना गाडी प्रयोग गरेको भन्दै युवाहरूले रोक्दा रावल युवाहरूसँगै भिड्न गएको भिडियो भाइरल बनेको थियो । विवाद बढेपछि बुधबार मात्रै उनले गाडी फिर्ता गरेका छन् ।
यसबाहेक सार्जवनिक कार्यक्रममा बोल्दा पनि रावल मर्यादित नबनेको उनकै पार्टीका नेताहरु बताउँछन् । फागुन अन्तिम साता सुदूरपश्चिम प्रदेश सरकारले गरेको ‘समृद्ध सुदूरपश्चिम प्रदेश निर्माणमा प्रदेशसभा सदस्यको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रम रावलकै कारण विथोलिएको चर्चा थियो । रावलले कार्यतालिकाविपरीत आफ्नो प्रस्तुतीकरण गर्न खोज्दा सांसदहरु कार्यक्रम छोडेर बाहिरिएका थिए ।
प्रतिक्रिया