ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

प्रदेश सांसद भन्छन्–तलब,भत्ता खानै लाज भयो

प्रदेश सभाको भूमिकाप्रति प्रदेश सांसदनै असन्तुष्ट

सोमबार १०, मङि्सर २०८१ ०६:५७

सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह ओलीले दोस्रो प्रदेश सभाले कामै गर्न नसकेको टीप्पणी गरेका छन् । धनगढीमा आज भएको संसदीय खुलापन, अवधारणा र अभ्यास सम्बन्धी छलफलमा उनले प्रदेश सभाले काम गर्न नसक्दा आफूलाई तलब भत्ता खाएको पनि अफ्ठेरो लागिरहेको बताए ।

‘प्रदेश सभाभित्र जति पनि काम भए पहिलेको प्रदेश सभाले गरेको छ । पहिलो प्रदेश सभाले संरचना पनि बनायो, कानुन पनि बनायो । हामी आइसकेपछि त तलब भत्ता खाएको पनि नमिठो लागेको छ’ ओलीले भने, ‘किनभने एउटा कानुन पनि बनाउन सकेको छैन ।’
सदनलाई विजनेश दिनुपर्ने सरकारसँग विधेयक बनाउने समितिनै नरहेको उनले बताए । उनले विधेयक ड्राफ्ट गर्ने समिति गठन गर्न मुख्यमन्त्री र कानुन मन्त्रीलाई आफूले ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको बताए । ‘बाहिरबाट आउने कर्मचारीले विधेयक बनाइ दिन्नन्, यहाँका वकिल, कानुनविद्, संविधानविदको ट्राफ्ट टोली बनाउ भनेर मुख्यमन्त्री, कानुन मन्त्रीलाई कति पटक भनियो’ ओलीले भने, ‘तर सरकारले बनाएन ।’ 

पहिलो प्रदेश सभामा लगाइएका फुल र विरुवा रङ्ग्याउने कामसमेत अहिलेको प्रदेश सभाले गर्न नसकेको उनले टीप्पणी गरे । संसदमा कुनै विषयमा बहस, छलफलनै हुन नसकेको उनको भनाइ छ । 
संसदमा चप्पल लगाउन किन नपाउने ? 
ओलीले संसदमा चप्पल लगाउन पाउनु पर्ने माग गरे । ‘चप्पल लगाउन किन नपाउने भित्र, चप्पल लगाउन पाउनु पर्छ’ ओलीले भने । अन्तरप्रदेश सभाको भ्रमण अवलोकनमा जाने सांसदको टोली सिकाइ, अनुभव हासिल गरेर यहाँ सुधार गर्नेभन्दा पनि रमाइलो गरेरमात्रै फर्किने टीप्पणी उनले गरे ।
 माओवादी केन्द्रका सांसद ओलीले आफ्नै पार्टीबाट बनेका सभामुखको भूमिकाप्रति पनि असन्तुष्टि जनाए । सभामुखले सांसद बोल्दबोल्दै माइक काटिदिने गरेको ओलीले बताए । उनले कर्मचारीले सभामुखलाई ‘अटो’ बनाएर राखेको टीप्पणी गरे । 
‘माथिबाट फलाना माननीय सदस्य बोल्नोस् तपाइको समय सुरु, कट...’ हाँस्दै उनले भने, ‘यहाँ त सभामुख बस्ने, राष्ट्रिय गान आउँछ, सांसद बोल्न चाहेपछि तपाइको सुरु भयो, कट.. । सभामुखले त तपाइको समय सकिन लाग्यो, छोट्याउनुस् भन्ने हुन्छ नि । कतिपय महत्वपूर्ण विषय बोलिरहेको हाुन्छ । के को हतार हो ?’ उनले सभामुखलाई संघीय संसद र भारतको संसदमा हुने बहस अवलोकन गर्न सुझाव दिए ।  

सांसद ओलीले प्रदेश सभाका बैठकहरु सञ्चार माध्यममा प्रत्यक्ष प्रसारण हुने व्यवस्था गर्नुपर्नेमा जोड दिए । सामाजिक सञ्जालमा राख्नलाई सदनमा आफूले बोलेको भिडियो ‘क्लिप’समेत पाउन मुस्किल हुने गरेको गुनासो बताए । ‘बोलेको कुरा बाहिर जाँदैनन्, प्रदेश सभाको लाइभ हेर्ने थोरै छन् । बोलेको भिडियो क्लिप देउभन्दा दिँदैनन्’ ओलीले भने, ‘निर्वाचन क्षेत्रका मान्छेले संसदमा बोल्नु हुन्न भन्छन् ।’
संसदमा दलको उपनेता, प्रमुख सचेतकको बसाइ व्यवस्थापनसमेत नगरिएको सांसद ओलीले बताए । रेकर्ड गर्ने प्रावधान नहुँदा समितिका बैठकमा व्यक्तिगत र अनौपचारिक कुराकानी हुने गरेको उनले बताए । 
‘संसद कमजोर हुँदा भ्रष्टाचार बढ्यो’
 कार्यक्रममा बोल्ने सांसदहरुले प्रदेश सभाको खुलापनमा जोड दिए । प्रदेश सभाका हरेक गतिविधिमा नागरिक र सञ्चार माध्यमको पहुँच हुनुपर्ने उनीहरुको धारणा थियो ।

सांसद सन्तोषकुमारी थापा शर्माले कानुन निर्माणलगायत संसदका कामकारबाहीमा नागरिकको सहभागिता कमजोर रहेको स्वीकार गरिन् । सूचना र पारदर्शीताको अवस्था कमजोर रहेको उल्लेख गर्दै उनले कमीकमजोरी सुधार गरेर खुला सदन अपनाउनु पर्ने बताइन् ।
 सांसद धर्मराज पाठकले संसदका गतिविधिलाई प्रविधिसँग जोडेर जानुपर्ने बताए । संसद र संसदीय समितिका कामकारबाहीप्रति चाँसो दिन उनले सञ्चार माध्यमलाई आग्रह गरे ।
सांसद रामेश्वर चौधरीले प्रदेश सभा स्वायत्त भएको उल्लेख गर्दै प्रदेशको भूमिका प्रभावकारी हुनुपर्ने बताए । सांसद लक्ष्मी बिकले कानुन निर्माणमा प्रदेश सभा पछाडि रहेको बताइन् । राजनीतिक नेतृत्वले कर्मचारी र कर्मचारीले राजनीतिक नेतृत्वलाई देखाएर पन्छिने प्रवृतिका कारण प्रदेश संरचनामा काम गर्न समस्या रहेको उनको भनाइ छ ।

सांसद जानकी ऐर बमले संसदीय समितिका गतिविधि नागरिकसम्म पुग्नुपर्नेमा जोड दिइन् । अर्का सांसद अक्कलबहादुर रावलले संसद र सांसदको भूमिका प्रभावकारी नहँुदा भ्रष्टाचार बढेको बताए । सरकारले विधेयक बनाउन नसक्दा प्रदेश सभा कामविहीन बनेको उनले बताए । सांसद रमेशसिंह धामीले दोस्रो प्रदेश सभाको दुई वर्ष बित्दा पनि जनअपेक्षाअनुसार काम हुन नसकेको बताए ।        

प्रतिक्रिया