ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

मधेश सरकारमा भागवण्डा टुङ्ग्याउने प्रयास

शुक्रबार ०७, कार्तिक २०८२ ११:१०

जनकपुर । मधेश प्रदेश सरकार विस्तारबारे आज सत्तापक्ष दलहरूको बैठक बस्दैछ । रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान ११ बजेदेखि सत्ताघटक जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठक बस्न लागेको हो ।

बैठकमा सरकार विस्तार, मन्त्रालय भागबण्डा, सरकारको टिओआर, सरकारले विश्वासको मत लिने लगायतको विषयमा छलफल हुने एक नेताले जानकारी दिए । बैठकमा जनमतबाट फुटेको नयाँ दल जनस्वराज र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा समेट्ने प्रयासबारे पनि छलफल हुने ती नेताले बताए ।

गत असोज २९ गते पाँच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले असोज ३० गते पद तथा गोपनीयताको शपथ लिएका थिए । उनले जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीबाट कनिष पटेललाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

सत्तापक्षीय दलहरूभित्र मन्त्रालयको भागबण्डा नटुंगिदा एक सातासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । बिना विभागीय मन्त्रीलाई समेत जिम्मेवारी तोकिएको छैन ।

प्रतिक्रिया