धनगढी । डडेल्धुराको एक सामुदायिक वनका अध्यक्षविरुद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आलिताल गाँउपालिका– ३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैविरुद्व विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । मडैले उपभोक्ता समितिको चेकमा किर्ते हस्ताक्षरसमेत गरी कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको कसुर छ ।
२०७८ मंसिर १० गतेको कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समितिको बैठकको प्रतिलिपि नक्कली तयार गरी समूहका सचिव र कोषाध्यक्षको जानकारी विना चेकमा किर्ते हस्ताक्षर गरेको अख्तियारको दाबी छ । उक्त चेकको २० लाख १५ हजार रकम मडैले लिएको आरोपपत्रमा उल्लेख छ । उक्त रकम लिएको समितिले थाहा पाएपछि दुई लाख रुपैयाँ मडैले कोषको खातामा जम्मा गरेका थिए । १८ लाख १५ हजार रुपैँया भने फिर्ता नगरेपछि अख्तियारमा उजुरी परेको थियो ।
आयोगबाट खटिएको टोलीले गरेको स्थलगत मुचुल्का र डिभिजन वन कार्यालय डडेल्धुराबाट प्राप्त स्थलगत प्रतिवेदन एवं फरेन्सिक परीक्षण प्रतिवेदनबाट किर्ते गरेको पुष्टि भएकाले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर भएको हुँदा मडैविरुद्व १८ लाख १५ हजार रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । आरोपपत्रमा बिगो बमोजिम कैद सजाय र बिगो बमोजिम जरिवानाको माग गरिएको छ ।
प्रतिक्रिया