काठमाडौं । अमेरिकाले नेपाली नागरिकका लागि दिँदै आएको अस्थायी सुरक्षा सुविधा अब अन्त्य हुने भएको छ। अमेरिकी गृह सुरक्षा मन्त्रालय अन्तर्गतको नागरिकता तथा आप्रवासन सेवाले यसबारे निर्णय सार्वजनिक गरेको छ ।
विज्ञप्तिअनुसार नेपालका लागि दिइएको टीपीएस सुविधा सन् २०२५ जुन २४ मा समाप्त हुनेछ। त्यसपछि ६० दिनभित्र यो निर्णय कार्यान्वयनमा जानेछ। उक्त मितिपछि नेपालका टीपीएसधारीहरूले यो सुविधा गुमाउने छन्।
सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि अमेरिका सरकारले नेपालीलाई टीपीएसको मान्यता दिएको थियो। तर, हाल अमेरिकाले नेपाल अब टीपीएसका लागि आवश्यक मापदण्ड नपुगेको ठहर गरेको छ।
गृहसचिवले अमेरिकी सरकारका सम्बन्धित निकायसँग छलफल गरेर निर्णय लिएका हुन्। ‘नेपालमा अब यस्तो अवस्था छैन जसले टीपीएस निरन्तरता आवश्यक ठहर गरोस्,’ विज्ञप्तिमा उल्लेख छ। सन् २०१५ मा यो सुविधा लागू हुँदा हजारौं नेपाली लाभान्वित भएका थिए।
प्रवासी अधिकारकर्मीहरूले अमेरिकी निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूले नेपाल अझै संवेदनशील चरणमा रहेको भन्दै टीपीएसको आवश्यकता रहेको तर्क गरेका छन्। अमेरिकाको संघीय रजिस्टरमा यो निर्णय ६ जुनमा प्रकाशित हुनेछ।
प्रतिक्रिया