ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरका शरद ओझाः बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएकाे चार महिनामै निलम्बित

मङ्गलबार ३१, असार २०८२ ११:४६

काठमाडौं । बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नियुक्त हुँदा पेस गरेका कागजात, योग्यता र कार्यशैलीबारे छानबिन गर्न सरकारले समिति गठन गरेको छ । समिति गठनसँगै ओझा निलम्बनमा परेका छन् । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा कपिल वली र जीवनप्रकाश सिटौला छन् । 

ओझा १२ फागुन २०८१ को मन्त्रिपरिषद् बैठकबाट चार वर्षका लागि प्राधिकरण अध्यक्षमा नियुक्त भएका थिए । ओझाको योग्यता र अनुभवसम्बन्धी कागजात शंकास्पद देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठदेखि अनुसन्धान थालेको थियो । दोहोरो परीक्षण नगरी ओझाले पेस गरेका कागजातकै आधारमा नियुक्ति गरिएको भन्दै अख्तियारले अर्थ मन्त्रालयबाट कागजात झिकाइसकेको छ ।

ओझाको नियुक्ति गैरकानुनी भन्दै बदरको मागसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, सिफारिस समिति र ओझालाई विपक्षी बनाई गत १७ चैतमा इन्दिरा धमलाका तर्फबाट सर्वोच्च अदालतमा समेत रिट दायर गरिएको थियो । त्यसको तीन दिनपछि २० चैतमा न्यायाधीश नहकुल सुवेदीको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारीसहित दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । पछिल्लोपटक ५ जेठ २०८२ मा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले ओझालाई अध्यक्षमा नियुक्ति गर्नॅका आधारसम्बन्धी कागजात पेस गर्न आदेश दिएको छ ।

अख्तियारमा पनि ओझाको नियुक्तिविरुद्ध उजुरी परेको थियो । प्रारम्भिक छानबिनमा ओझाले पेस गरेका कागजातमा कैफियत देखिएपछि अख्तियारले विस्तृत अनुसन्धान अघि बढाएको हो । 

ओझाले सामरिक तथा सुरक्षा सामग्री खरिद गर्ने विदेशी कम्पनीको स्थानीय एजेन्टका रूपमा समेत काम गर्ने ट्रिनिटी एक्जिम प्रालिमा १८ अक्टोबर २०१९ देखि १६ नोभेम्बर २०२१ सम्म सिनियर म्यानेजर, नेपाल सरकार मातहतको लगानी बोर्डमा १५ जनवरी २०२४ देखि २३ मे २०२४ सम्म ‘पार्ट–टाइम’ कन्सल्टेन्ट, नेपाल उद्योग परिसंघमा ११ मे २०२४ देखि पोलिसी एक्सपर्टका रूपमा, नेपाल उद्योग वाणिज्य महासंघमा काम गरेको पनि अनुभव पेस गरेका छन् ।

ओझाले नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्टमा जनवरी २०१७ देखि नियुक्ति हुँदाका बखत ९२०२५० सम्म रिसोर्स फ्याकल्टीमा तथा डिसेम्बर २०२२ देखि २०२४ सम्म एसएआईएम ९सायम० कलेजमा अध्यापन गराएको अनुभवसहितको कागजात पेस गरेको देखिन्छ ।

उनले चाणक्य मिडिया प्रालिमा १६ डिसेम्बर २०२१ देखि २२ जनवरी २०२५ सम्म सिनियर म्यानेजर भएको अनुभवको कागजपत्र पनि पेस गरेका छन् । यस्तै २७ वैशाख २०८० देखि नियुक्ति हुँदाका बखतसम्म सूचना तथा प्रसारण विभागबाट प्रेस प्रतिनिधि रहनुका साथै देशसञ्चार मिडियामा १७ नोभेम्बर २०१७ देखि १६ अगस्ट २०१८ सम्म काम गरेको उल्लेख छ ।

ओझाले प्रशासनिक मिडियामा १ माघ २०७३ देखि कात्तिक २०७४ सम्म प्रबन्धक र १ कात्तिक २०७० देखि २०७२ को कात्तिकसम्म व्यवस्थापन अधिकृतमा काम गरेको पनि प्रमाणपत्र पेस गरेका छन् ।

राजधानी कलेजमा २०१८ देखि २७ डिसेम्बर २०२४ सम्म, एपेक्स कलेजमा जनवरी २०१७ देखि २३ सेप्टेम्बर २०२४ सम्म र इम्पेरियल कलेजमा अप्रिल २०१८ देखि सेप्टेम्बर २०२४ सम्म अध्यापन गरेको अनुभवपत्र पनि ओझाले प्राधिकरण अध्यक्षका लागि योग्यताका कागजातअन्तर्गत पेस गरेका छन् ।

ओझाले पेस गरेका कागजातको दोहोरो परीक्षण नगरिएको, उनको अनुभव बिमासँग सम्बन्धित नरहेको र ती कागजातको प्रमाणीकरण पनि एक सदस्यीय समितिबाट भएकाले अनुसन्धान आवश्यक रहेको अख्तियारमा दायर उजुरीमा उल्लेख छ । ओझाको घर कञ्चनपुर हो । 

प्रतिक्रिया