डडेल्धुरा ।
मालिकका मालिकै छन्, गोसाईंका गोसाई छन्
जति तन्त्र आयापन हाम्रा दिन उसाई छन्
डेउडा गीतका माथिका पङ्ती डडेल्धुराको अजयमेरु गाउँपालिका– १ का रामबहादुर पार्कीका हुन् । पार्कीले बाजेको पालादेखि मालिकबाट लिएको कर्जा स्वरूप जीवनभर हलो जोते । तर कर्जा कहिल्यै घटेन । ५५ वर्ष कटिसकेका पार्कीले जसरी सरकारले हलिया मुक्त ग¥यो त्यसरी पुनर्स्थापना नगरेको दुखेसो पोख्छन् । उनी जस्तै जिल्लाभर दुई हजार पाँच सय ५१ जना हलिया रहेको तथ्याङ्क छ । जसमध्ये अझै पनि दुई हजार तीन सय ७६ जना हलिया भएर पनि प्रमाणीकरण नभएको जिल्ला हलिया मुक्ति समाजले जनाएको छ ।
अधिकांश मुक्त हलियाहरु भूमिहीन भएकोमा मजदुरीका लागि भारत पलायन भइसकेका छन् । घरमा भएका मुक्त हलिया परिवारका बालबालिकाहरू शिक्षाबाट पनि वञ्चित छन् । सदरमुकाममै रहेको अमरगढी नगरपालिका–७ ओखरमुनीका अधिकांश विद्यालय उमेरका बालबालिकाले शिक्षाबाट वञ्चित हुनुपरेको छ । उक्त गाउँकै बसन्ती ताम्राकार चार वर्षअघि कक्षा १२ पास गरेको भए पनि आर्थिक अवस्था कमजोर हुँदा उच्च शिक्षा अध्ययन गर्न नपाएको बताउँछिन् ।
राष्ट्रिय मुक्त हलिया महासंघका केन्द्रिय कोषाध्यक्ष इन्दिरा ताम्राकारले अमरगढीको ७ नम्बर वडामा मात्र ४५ परिवार मुक्त हलिया रहेको बताइन् । ‘सरकारी तथ्याङ्कले विद्यालय उमेरका सबै बालबालिकाहरू विद्यालय बाहिर छैनन् भनेको छ,’ उनले भनिन्, ‘तर हाम्रो तथ्याङ्कले हलिया परिवारका कम्तीमा ३० प्रतिशत बालबालिका विद्यालय बाहिर छन् ।’
जिल्ला हलिया मुक्ति समाजका अध्यक्ष भरत सार्कीले मुक्तिको कार्ड मात्र बोकेर पुनर्स्थापनाको प्याकेज नपाएका हलियाहरु समस्यामा रहेको बताए । ‘५६ जनालाई जग्गा खरिद गर्न पैसा आयो,’ उनले भने, ‘तर घर बनाउन पैसा नआउँदा समस्या भएको छ ।’ उनले मुक्त हलियालाई मालिकसंगै सरकारले पनि छोडेको गुनासो गरे ।
सरकारले ०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो । तर हलिया मुक्ति भएको १६ वर्षसम्म पनि हलियाका समस्या समाधान भएका छैनन् ।
प्रतिक्रिया