बैतडी। नेपाल–भारत जोड्ने गरी दार्चुलामा निर्माण भएको मोटरेबल पुल सञ्चालनका लागि भारतको पिथौरागढमा बैठक बसेको छ । सोमबार पिथौरागढका प्रमुख जिल्ला अधिकारी विनोद गोस्वामीको अध्यक्षता बसेको बैठकले पुल चाँडै सञ्चालन गर्ने निर्णय गरेको छ । दार्चुलाको असिगडामा नेपाल–भारत जोड्ने ११० मिटर लम्बाइको सो मोटरेबल स्टिल ब्रिज निर्माणको काम सकिएपछि सञ्चालनका लागि बैठक बसेको भारतीय सञ्चारकर्मी सुरेन्द्र आर्यले जानकारी दिए । पुल निर्माणको काम भारतीय पक्षले गरेको हो ।
नेपालसँग समन्वय गरेर केही महिनाभित्रै पुल सञ्चालनमा आउने आर्यले जानकारी दिए । दार्चुलाको महाकाली नगरपालिका–८, असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला तहसिल बलुवाकोटनजिकको छारछुम क्षेत्र जोड्ने मोटरेबल पुल सञ्चालन हुने भएपछि दुवै देशका नागरिक खुसी छन् । भारतीय कम्पनी पी एन्ड आर इन्फ्रा प्रोजेक्ट लिमिटेड पन्जाबले पुल निर्माणको ठेक्का पाएको थियो ।
पुलको लागत ३२ करोड ९८ लाख भारतीय रुपियाँ रहेको भारतीय सञ्चारकर्मी आर्यले बताए ।उनले भने, “पिथौरागढमा बसेको बैठकमा लोक निर्माण विभाग, एसएसबी, भन्सार विभाग, वन विभाग र प्रहरी अधिकारी सहभागी थिए । पुल सञ्चालनका लागि सीमा सुरक्षा बल, प्रहरी चेकपोस्ट, भन्सार कार्यालयका कर्मचारी राख्नेलगायतका विषयमा छलफल भएको छ । पुल सञ्चालनका लागि नेपालसँग समन्वय हुने छ ।”
सञ्चारकर्मी आर्यका अनुसार बैठकमा प्रमुख जिल्ला अधिकारी गोस्वामीले पुलमा बेरियर र गेट निर्माणका लागि निर्देशन दिएको छ । पुल निर्माण सम्पन्न भएपछि नेपाल–भारत दुवै देशका धार्मिक, पर्यटकीय क्षेत्र र व्यापार व्यवसायमा टेवा पुग्ने छ । पुल निर्माण सकिएपछि नेपालतर्फको १५० मिटर सडक सम्याएर स्तरोन्नतिको काम भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । प्रजिअ जोशीले पुल सञ्चालका लागि दुई देशका उच्च अधिकारीले संयुक्त रूपमा उद्घाटन गरेपछि सञ्चालनमा आउने बताए । उनले पुलमा छिट्टै नेपालतर्फ सुरक्षाकर्मीको चेकपोस्ट बस्ने बताए ।
यो पुलबाट भारतको धार्चुला हुँदै पिथौरागढ, हलद्वानी भएर टनकपुर र भारतको राजधानी नयाँ दिल्लीसम्म पुग्न सकिने छ । त्यसै गरी नेपालतर्फको दार्चुलास्थित मालीकार्जुन धाम, अपिनाम्पा, बैतडीको त्रिपुरासुन्दरी, पाताल भूमेश्वर गुफालगायतका क्षेत्र हुँदै भारतीय पर्यटक कैलाली र कञ्चनुरसम्मको यात्रा गाडीमै गर्न सक्ने छन् ।
प्रतिक्रिया