ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भीमदत्त राजमार्गका यी आधा दर्जन वैकल्पिक सडक, निर्माण सुस्त

बिहिबार ०४, पुष २०८१ ०८:०२

धनगढी । कैलालीको अत्तरियादेखि डडेल्धुरा जोड्ने सडक हो, भीमदत्त राजमार्ग । सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने वैकल्पिक सडक नभएको हुँदा भीमदत्त राजमार्गलाई पहाडी जिल्लाको लाइफलाइन मानिन्छ । तर, लाइफलाइन सडकको बिजोक छ । एक सय ३५ किलोमिटर लामो राजमार्गको अधिकांश क्षेत्र क्षतिग्रस्त छ । राजमार्गको ६९ किलोमीटर खण्ड कैलाली तथा डोटी र डडेल्धुरामा ३३÷३३ किलोमिटर पर्छ ।

डोटी र डडेल्धुरा खण्डको अवस्था सबैभन्दा दयनीय रहेको छ । भीमदत्त राजमार्गको विकल्पको रुपमा पहाडी जिल्ला जोड्ने आधा दर्जन वैकल्पिक मार्गको निर्माण हुँदै आएको छ । तर, ती वैकल्पिक मार्गहरुको निर्माण भने सुस्त छ । ती मध्येको एक हो, महाकाली करिडोर ।

कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा र बैतडी हुँदै दार्चुलाको तिंकर जोड्ने योजनाअनुसार करिडोरको निर्माण सुरु भएको डेढ दशक बितेको छ । महाकाली करिडोरका योजना प्रमुख लक्ष्मणदत्त जोशीका अनुसार ब्रह्मदेवदेखि तिंकरसम्म चार सय १३ किलोमिटर रहेकोमा ब्रह्मदेवदेखि दार्चुलाको तुसरपानीसम्म तीन सय ३४ किलोमिटर सडक महाकाली करिडोरको योजना कार्यालय र त्यहाँदेखि तिंकरसम्म ७९ किलोमिटर नेपाली सेनाले बनाउने जिम्मा पाएको छ । योजना कार्यालयले जिम्मा पाएको तीन सय ३४ किलोमिटरमध्ये दुई सय ४५ किलोमिटर ट्याक खोल्ने काम सम्पन्न भएको छ ।

अहिले बजेट अभावका कारण योजना कार्यान्वयनमा समस्या छ । यस्तै, सेती लोकमार्गको निर्माणमा झन सुस्तता छ । कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा क्षेत्रको उरै भञ्ज्याङ जोड्ने सेती लोकमार्गको दुई खण्डमा काम भइरहेको छ । पर्याप्त बजेट नहुँदा सो लोकमार्ग निर्माण सुरु भएको १५ वर्षमा ट्र्याक खोल्ने काम आधा पनि सकिएको छैन । सुदूरपश्चिमको समृद्धिसँग जोडिएको यो लोकमार्ग आर्थिक वर्ष ०६५/०६६ बाट निर्माण सुरु गरिएको थियो । लोकमार्गको दक्षिणखण्डअन्तर्गत अछाम तर्फको ८० किलोमिटर, बाजुरा १२ किलोमिट, डोटी ४० किलोमिटर र कैलालीको ७२ किलोमिटरसहित दुई सय चार किलोमिटर सडक खण्ड पर्दछ ।

जसमध्ये अछाममा ५७ र कैलालीमा ७० किलोमिटरसहित एक सय २७ किलोमिटर ट्र्याक खोलिएको आयोजनाले जनाएको छ । हालै मन्त्रिपरिषद्बाट रुख कटानको आदेश आएपछि चालु आर्थिक वर्षमा काम अगाडि बढाइने सेती लोकमार्ग दक्षिण खण्ड सडक योजना कार्यालय साँफेबगरका प्रमुख वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

उत्तरीखण्डअन्तर्गत बझाङ जिल्लामा एक सय २८ किलोमिटर सडक पर्दछ । यस लोकमार्गको कुल लम्बाइ तीन सय ५९ किलोमिटर रहेको छ । चालु आर्थिक वर्षका लागि उत्तरी र दक्षिणीखण्डमा गरी ७० करोड बजेट विनियोजन गरिएको छ । भीमदत्त राजमार्गको विकल्पको रुपमा सबैभन्दा पहिले हेरिएको सडक हो, धनगढी–दीपायल द्रुतमार्ग । ९४ किलोमीटर सडक निर्माण सुरु भएको १७ वर्षमा अहिले ३० किलोमीटरमा कालोपत्रेको काम भइरहेको छ ।

०६४ मा खुटिया–दीपायल द्रुतमार्गको औपचारिक रूपमा सर्भे गरी ‘ट्रयाक’ खोल्ने काम गरिएको थियो । त्यसबेला खुटियादेखि दीपायलसम्म ८४ किलोमीटर सडक सर्भे भएकामा पछि पूर्वपश्चिम राजमार्गको स्याउले–धनगढीसम्मको १० किलिमीटर सडक थपेर ९४ किलोमीटर कायम गरिएको थियो । यस्तै, दैजी–लिप्ना–जोगबुढा–सलोन–चिर्कीटे–पोखरा–ढुंगाड–बझाङ सडक, बेलौरी–कलुवापुर–नाइल–बुडर, मालाखेती–ओलानी–कोलमुडा–फल्टुडे, चिसापानी–जंगलघाट–बडिमालिका सडकको निर्माण पनि सुस्त छ ।

प्रतिक्रिया