ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा लागुऔषध दुर्व्यसन मुख्य चुनौती, नियन्त्रणका लागि समन्वय अपरिहार्य

मङ्गलबार २२, पुष २०८२ ११:०१

कञ्चनपुर । युवामाझ बढ्दो लागुऔषध दुर्व्यसन प्रदेशका लागि गम्भीर चुनौती बन्दै गएको भन्दै यसको नियन्त्रणका लागि सरकार, सुरक्षा निकाय, शैक्षिक संस्था, अभिभावक र समुदायबीच समन्वय अपरिहार्य रहेको सरोकारवालाले बताएका छन् । प्रदेश युवा परिषद्को आयोजना तथा जेबी एकेडेमी वाणी, कञ्चनपुरको सहकार्यमा सम्पन्न लागुऔषध विरुद्धको प्रदेशस्तरीय अभियान तथा अभिमुखीकरण कार्यक्रमका वक्ताहरूले यस्तो धारणा राखेका हुन् ।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र सावदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास मन्त्रालयकी राज्यमन्त्री सरस्वती खड्का प्रमुख अतिथि थिइन् । उनले लागुऔषध दुर्व्यसनलाई व्यक्तिगत कमजोरीका रूपमा मात्र नभई सामाजिक समस्याका रूपमा बुझ्नुपर्ने बताउँदै राज्यले यसविरुद्ध दीर्घकालीन नीति र अभियान अघि बढाइरहेको उल्लेख गरिन् ।  

‘लागुऔषध दुर्व्यसनले युवाको भविष्य मात्र होइन, समग्र समाज र राष्ट्रलाई नै कमजोर बनाउँछ,’ राज्यमन्त्री खड्काले भनिन्, ‘यसको अन्त्यका लागि सरकारको प्रयाससँगै परिवार, विद्यालय र समुदायको सक्रिय भूमिका अत्यावश्यक छ ।’ कार्यक्रमका विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले लागुऔषधको कारोबार र दुर्व्यसन नियन्त्रणमा सुरक्षा निकाय एक्लैले मात्र सफलता हासिल गर्न नसक्ने स्पष्ट पारे । ‘लागुऔषधको जालो विद्यालय र समाजसम्म फैलँदै गएको छ,’ उनले भने, ‘यसलाई नियन्त्रण गर्न प्रहरी, अभिभावक, शिक्षक र स्थानीय तहबीचको सहकार्य अनिवार्य छ ।’

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनारले लागुऔषध सम्बन्धी कानुनी व्यवस्था, दण्ड–सजाय तथा पुनःस्थापनाका उपायबारे प्रशिक्षण दिए । उनले चेतनाको अभावका कारण धेरै युवा कुलतमा फस्ने गरेको उल्लेख गर्दै समयमै सही सूचना र अभिमुखीकरण आवश्यक रहेको धारणा राखे । 

यस्तै, कैलाली जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख आश्रम केसीले खेलकुद र सिर्जनात्मक गतिविधिमार्फत युवालाई कुलतबाट जोगाउन सकिने बताए । कञ्चनपुर जिल्ला युवा सशक्तिकरण समितिका अध्यक्ष दीपक बिसीले युवा स्वयं सचेत नभएसम्म अभियान सफल नहुने उल्लेख गर्दै युवाको नेतृत्वमै यस्तो अभियान निरन्तर चलाइनुपर्नेमा जोड दिए । 

विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, पत्रकार तथा स्थानीय समुदायका प्रतिनिधिसहित करिब २ हजार ५ सय जनाको सहभागिता रहेको कार्यक्रममा जेबी एकेडेमीबाट सुरु भएको प्रभातफेरी वाणी बजार हुँदै पुनः जेबी एकेडेमीमै पुगेर समापन गरिएको थियो । प्रभातफेरीमा लागुऔषध विरुद्धका चेतनामूलक नारा र सन्देश प्रवाह गरिएको थियो ।

कार्यक्रमको मूल उद्देश्य बढ्दो कुलत तथा लागुऔषध दुर्व्यसनमा फसेका युवाहरूको न्यूनीकरण र नियन्त्रण गर्दै जनचेतना विस्तार गर्नुका साथै दीर्घकालीन रूपमा लागू औषधमुक्त प्रदेश निर्माण गर्नु रहेको आयोजक प्रदेश युवा परिषद्ले जनाएको छ ।

प्रतिक्रिया