धनगढी । सुदूरपश्चिममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जनाधार अन्य प्रदेशभन्दा कमजोर छ । गत निर्वाचनले पनि त्यही देखाएको थियो । प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेको थिएन । समानुपातिक मत पनि नेपाली कांग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्रभन्दा निकै कम पाएको थियो, रास्वपाले । नागरिक उन्मुक्ति पार्टी पनि लोकप्रिय मतमा रास्वपाभन्दा अगाडि थियो ।
आसन्न निर्वाचनमा भने रास्वपा सुदूरपश्चिममा प्रभाव बलियो बनाउन चाहन्छ । यसपटकको निर्वाचनमा प्रदेशमा कम्तिमा पनि चार सिटमा जित निकाल्ने आन्तरिक विश्लेषण रास्वपाको छ । सुदुरपशिममा १६ निर्वाचन क्षेत्र छन् । कञ्चनपुर र कैलालीको एक–एक क्षेत्र जितिने रास्वपाको आन्तरिक आकलन छ ।
कञ्चनपुर– २ र कैलाली– २ मा जित हुने आकलन गरिएको हो । कञ्चनपुर– २ मा रास्वपा सभापति रवि लामिछानेका विश्वासपात्र दीपक बोहरा चुनावी मैदानमा छन् । यस्तै कैलाली– २ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निकट मानिने केपी खनाल उम्मेदवार छन् । दुबै क्षेत्रमा मुख्य प्रतिस्पर्धा कांग्रेससंग रहेको रास्वपाको आन्तरिक आकलन छ ।
यस्तै अछाम– २ र बैतडीलाई पनि रास्वपाले जित्ने सूचीमा राखेको छ । अछाम– २ मा बालेनका पूर्व स्वकीय भूपदेव शाह तथा बैतडीमा कांग्रेस पृष्ठभूमिका हरिमोहन भण्डारी रास्वपाबाट उम्मेदवार छन् ।
रास्वपाले कैलाली– ५, डडेल्धुरा र बाजुरामा पनि आफ्ना उम्मेदवार मुख्य प्रतिस्पर्धीको रुपमा रहेको जनाएको छ ।
प्रतिक्रिया