धनगढी । ०७५ साल चैत ८ गते कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल तनावग्रस्त थियो । अघिल्लो दिन धनगढी जुगेडाकी २० वर्षीया सुत्केरी रेखा थापाको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रिएका थिए । हुन् त अस्पतालले सुत्केरीको अवस्था गम्भीर रहेको भन्दै रेफर गरेको थियो । तर, रेखाको बाटोमै मृत्यु भएपछि मृतकका आफन्तले मृत्युपछि बिरामीलाई रेफर गरेको आरोप लगाएका थिए । उनीहरुले सुत्केरी गराउने क्रममा चिकित्सकबाट लापरवाही भएको पनि आरोप लगाएका थिए ।
मृतकका आफन्तको आन्दोलन साम्य पार्न अस्पताल प्रशासन, सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय र स्थानीय सरकारबीच पाँच बुँदे सहमति भयो । ०७५ चैत ८ गते भएको वार्तामा नवजात शिशुको निःशुल्क उपचार गर्ने, सामाजिक विकास मन्त्रालयले बालकको शिक्षादिक्षाको व्यवस्था गर्ने, पालनपोषणका लागि प्रदेश मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र बच्चा २४ वर्ष नपुग्दासम्म अस्पतालमा निःशुल्क उपचार उपलब्ध गराउनेलगायत पाँच बुँदे सहमति भएको थियो । सहमति हुँदा उपस्थित अधिकारीहरूमा सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डे, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख दयाकृष्ण पन्त, धनगढीका नगर प्रमुख नृपबहादुर वड तथा वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी थिए । सहमतिपछि मात्रै मृतकको अन्त्येष्टि गरिएको थियो ।
तर, परिवारका अनुसार सहमतिका कुनै पनि बुँदा व्यवहारमा कार्यान्वयन भएका छैनन् । बालकको शिक्षादिक्षा र पालनपोषणको जिम्मेवारी लिने भनिएको मन्त्रालय सात वषैसम्म मौन छ । नवजातको निःशुल्क उपचारको सहमति पनि कागजमै सीमित भएको मृतक रेखाका श्रीमान जयबहादुर थापाले बताए । उनका अनुसार आन्दोलनपछि निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र बालकको पालनपोषण तथा शिक्षाको जिम्मेवारी सरकारले लिने सहमति भए पनि कार्यान्वयन गरिएको छैन ।
सेती अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले पीडितको फाइल मन्त्रालयमा बुझाइसकेको बताएका छन् । तर, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डाक्टर निरज अर्यालका अनुसार पीडित पक्ष हालै मन्त्रालय पुगेपछि सचिवलाई जानकारी गराइएको छ । मन्त्रालयका अनुसार आर्थिक मामिला मन्त्रालयले सहमति नदिएका कारण प्रक्रिया अघि बढ्न नसकेको हो ।
प्रतिक्रिया