धनगढी । सहरीकरणलाई व्यवस्थित गरी प्रत्येक सहरलाई त्यस क्षेत्रको आर्थिक केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले सुरु भएको नयाँ सहर आयोजनाले गति लिन सकेको छैन । नेपाल सरकारले सुदूरपश्चिम प्रदेशको पाटन र साँफेबगर नगरपालिकासहित मध्यपहाडी लोकमार्गका १२ वटा सहरलाई व्यवस्थित बनाउन २०६७/०६८ बाट नयाँ सहर आयोजना सुरु गरेको थियो । आयोजना सुरु भएको १४ वर्षमा एकीकृत विकास योजना (आइडिपी), रणनीतिक सहरी विकास योजना (एसयुडिपी) तयार भई जग्गा एकीकरणको काम भइरहेको छ ।
यी योजना कार्यान्वयन गर्नका लागि पहिलो काम जग्गा एकीकरण गर्नुपर्ने भए पनि सोही काममा ढिलासुस्ती भएकाले नयाँ सहर आयोजनाको कामले गति लिन सकेको छैन । साँफेबगरमा जग्गा एकीकरणको काम सुरु नै भएको छैन । नयाँ सहर आयोजना कार्यालय, साँफेबगरका प्रमुख मनोजकुमार यादवले जग्गा एकीकरणको लागि आउँदो हप्ता मात्रै सम्झौता हुने बताए । उनले यसवर्ष जग्गा एकीकरण, बसपार्क निर्माण र खेलकुद मैदान निर्माण गरी तीन वटा कार्यक्रम रहेको बताए । ‘जग्गा एकीकरणका लागि भरखरै सम्झौताको चरणमा छ,’ उनले भने, ‘अर्को हप्ता सम्झौता हुन्छ । त्यसपछि बसपार्क निर्माणका लागि टेन्डर आव्हान गर्छौ ।’
उनका अनुसार खेलकुद मैदानमा क्यान्टेन र शौचालय बनाउनको लागि ठेक्का लगाइएको छ । ‘खेलकुद मैदान छ, त्यसमा व्याटमेन्टन कोर्ट पहिला बनिसकेको छ,’ उनले भने, ‘खेलकुद मैदानमा क्यान्टेन र शौचालय बनाउनको लागि यसपाली टेण्डर भएको छ ।’ पाटनमा पनि जग्गा एकीकरणको काम नभएको हुँदा स–साना सडक र ढल निर्माण बाहेकको काम हुन सकेको छैन । नयाँ सहर आयोजना कार्यालय, पाटनका इञ्जिनियर शौरभ कलौनीले जग्गा एकीकरणको प्रयास भइरहेको बताए । उनले जग्गा एकीकरण नभएको हुँदा आयोजनाको मुख्य उद्देश्यको काम हुन नसकेको बताए । ‘मुल काम जग्गा एकीकरण नै हो,’ उनले भने, ‘जग्गा एकीकणको काम भइसकेपछि मात्रै विस्तृत सहरी विकासको काम हुन सक्छ ।’
नयाँ सहरको रणनीतिक योजनाअनुसार विद्युत, सडक, ढल, खानेपानी, खेलकुद मैदान, रंगशाला, एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र (ल्याण्डफिल साइड), बसपार्क, पार्क निर्माण, अस्पताल लगायतका कार्य गर्न सम्बन्धित क्षेत्रका जग्गाधनप्हरुले आयोजना कार्यालयलाई जग्गा प्रयोग गर्न सहमति दिनुपर्छ । यो सहमतिलाई नै जग्गा एकीकरण भनिएको छ । जग्गा एकीकरण आयोजना सञ्चालन कार्यविधिमा जग्गाधनीले आयोजना सञ्चालनका लागि जग्गा दिन सहमति रहेको माग फाराम भरी जग्गाधनी पुर्जासहित आयोजना कार्यालयमा सहमति पत्र पेश गर्नुपर्छ । सहमति पत्र संकलन भएपछि जग्गा एकीकरणका लागि जग्गाधनीबीच सम्झैता हुन्छ ।
जग्गा परिवर्तन र घट्ने प्रतिशत र जग्गाधनीले फिर्ता पाउने जग्गाको क्षेत्रफल र प्रतिशत समेत उल्लेख गरी सो सम्झौता भएपछि मात्रै आयोजना कार्यालयले रणनीतिक शहरी विकास योजना अनुसार कार्य अगाडि बढाउने कार्यविधिमा उल्लेख छ । तर, पाटनमा जग्गा एकीकरणको लागि सहमति प्राप्त नभएको इञ्जिनियर कलौनीले बताए ।
साँफेबगरमा नयाँ शहर विकास गर्न ८८ अर्ब एक करोड र पाटनमा ६९ अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । चालु आर्थिक वर्षका लागि साँफेबगरमा चालुतर्फ एक करोड ११ लाख २९ हजार र पुँजीगततर्फ १० करोड दुई लाख गरी कुल ११ करोड १३ लाख ३३ हजार रुपैयाँ विनियोजन भएको छ ।
पाटनमा चालुतर्फ एक करोड १६ लाख २९ हजार र पुँजीगतर्फ १३ करोड ६८ लाख गरी कुल १४ करोड ८४ लाख २९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।साँफेबगरको आयोजना कार्यालयले चालु बजेटको ०.४४ प्रतिशत (चार लाख ९५ हजार रुपैयाँ) खर्च गरेको छ भने पुँजीगत खर्च नभएको आयोजना कार्यालयले जनाएको छ । पाटनको आयोजना कार्यालयले चालु र पुँजीगत दुबै रकम खर्च गर्न नसकेको नयाँ सहर आयोजना कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा साँफेबगरका लागि कुल ११ करोड ६४ लाख ८९ हजार विनियोजन भएकोमा ९ करोड २६ लाख ४८ हजार (७९.५३ प्रतिशत) खर्च भएको थियो । पाटनका लागि कुल ५ करोड ५५ लाख ८७ हजार विनियोजन भएकोमा ३ करोड ५८ लाख ३२ हजार (६४.४६ प्रतिशत) खर्च भएको थियो ।
प्रतिक्रिया