ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
स्वास्थ्यमन्त्री पौडेल पुगे गेटा

‘विधेयक मात्रै पास भएर गेटामा विश्वविद्यालय बन्दैन’

मङ्गलबार २३, पुष २०८१ १२:३६

धनगढी । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विधेयक मात्रै पास भएर दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्न नसक्ने बताएका छन् । कैलालीको गेटा अस्पतालको निरीक्षणपछि मन्त्री पौडेलले विधेयक पास भए पनि विश्वविद्यालय बनाउने प्रक्रिया लामो रहेको बताएका हुन् । ‘कानूनी प्रक्रिया मात्रै पूरा भएर विश्वविद्यालय बन्दैन,’ उनले भने, ‘गेटामा अहिले भएको लगानीको झण्डै दुई/तीन गुणा बढी लगानी आवश्यक पर्छ । अरु पूर्वाधार र जनशक्तिको पनि व्यवस्थापन गर्नुपर्छ ।’

मन्त्री पौडेलले विश्वविद्यालय बनाउने प्रक्रिया निरन्तर अगाडि बढाउने तथा अस्पताल सञ्चालन र एमबीबीएसको अध्यापन पनि सुरु गर्ने तयारी रहेको बताए । ‘गेटामा अस्पताल चल्नु र एमबीबीएसको पढाई सुरु हुनु भनेको विश्वविद्यालयको प्रक्रिया रोकिनु होइन,’ उनले भने, ‘त्यसैले यहाँ बनेका सबै पूर्वाधार स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरे हुन्छ । भोलि विश्वविद्यालयको प्रक्रिया पूरा भए स्वास्थ्यले शिक्षालाई हस्तान्तरण गर्छ ।’

मन्त्री पौडेलले गेटामा एमबीबीएसको अध्ययन र तीन सय शय्याको अस्पताल सञ्चालन गर्न पार्टी सभापति शेरबहादुर देउवाले पनि निर्देशन दिएको बताए । ‘म मन्त्री भएपछि सभापतिले बोलएर गेटामा तीन सय शैय्याको अस्पताल छिटो चलाउनु भन्नुभएको थियो,’ उनले अगाडि थपे, ‘उहाँले सबै प्रदेशमा एमबीबीएसको पढाई सुरु भयो मेरो प्रदेशमा भएको छैन । मेरो प्रदेशमा पनि सुरु गर्नुस् भनेर मलाई निर्देशन दिनुभएको थियो ।’

आगामी असारदेखि एमबीबीएसको पढाई सुरु गर्नका लागि प्रक्रिया अगाडि बढाइएको मन्त्री पौडेलले बताए । ‘लक्ष्य तीन सय शय्याको हो, तर सकिएन भने असारसम्म गेटालाई एक सय शय्याको अस्पताल जसरी पनि बनाउँछौ,’ उनले भने, ‘छ प्रदेशमा एमबीबीएसको पढाई भएइसकेकोले सुदूरपश्चिममा पनि पढाई सुरु हुनुसक्छ । तीन सय शय्याको अस्पताल तीन वर्ष नचले पनि विशिष्ट परिस्थितिका कारणले गेटामा एमबीबीएस पढाई सञ्चालन गरिएको छ भनेर चिकित्सा शिक्षा आयोगले निर्णय गर्नसक्छ । यहीँ असरामा पढाई सञ्चालन गर्नका लागि म लागिरहेको छु । यो विश्वविद्यालय बनाउने प्रक्रियालाई रोक्न होइन ।’

२९ माघ २०८० मा बसेको मन्त्रिपरिषद् बैठकले गेटामा सरकारी लगानीमा निर्माण भएको संरचनामा स्वास्थ्य विज्ञानसम्बन्धी विशिष्टिकृत विश्वविद्यालयको रूपमा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । विश्वविद्यालय सञ्चालनका लागि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकले पूर्णता पाएको छैन । उक्त विधेयक राष्ट्रियसभाबाट पास भएर प्रतिनिधिसभामा पेस भएको थियो । प्रतिनिधिसभामा विधेयकमाथि छलफल भएर अहिले दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ । 

विधेयकमा विश्वविद्यालयलाई स्वायत्त, स्वशासित र संगठित संस्थाका रूपमा अगाडि बढाइने बताइएको छ । विधेयकमा प्रधानमन्त्री कुलपति, शिक्षामन्त्री सहकुलपति हुने प्रबन्ध गर्नुका साथै ऐन कार्यान्वयन भएको ९० दिनभित्र उपकुलपति नियुक्त भइसक्नुपर्ने, विश्वविद्यालयसभामा प्रधानमन्त्री र शिक्षामन्त्रीका अतिरिक्त प्रदेशको मुख्यमन्त्रीको सहभागिताले प्रदेश तहमा समेत स्वामित्व हुने गरी कानुनी प्रबन्ध गर्न खोजिएको छ ।

प्रतिक्रिया