ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कङ्गोमा विद्रोहीद्वार १३ विदेशी सैनिकको हत्या

आइतबार १३, माघ २०८१ ०१:३६

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) मा विद्रोहीले १३ जना विदेशी सैनिकको हत्या गरेका छन् । विद्रोही एम२३ समूहसँगको भीडन्तमा शान्ति स्थापनाका लागि खटिएका १३ जना विदेशी सैनिक मारिएका बीबीसीले जनाएको छ । 

विद्रोही समूहसँगको भीडन्तमा दक्षिण अफ्रिकाका ९, मलावीका ३ र उरुग्वेका १ जना शान्ति सैनिक मारिएका छन् । विद्रोहीहरूलाई कङ्गोको पूर्वमा रहेको गोमा शहरतर्फ प्रवेश गर्नबाट रोक्ने प्रयास गर्दा आफ्ना ९ जना सैनिकको ज्यान गएको दक्षिण अफ्रिकाको सेनाले जनाएको खबरमा उल्लेख छ । 

गोमामा विद्रोही समूह एम२३ र कंगोको सेनाबीच लडाइँ चलिरहेको छ ।  संयुक्त राष्ट्रसङ्घले अत्यावश्यकबाहेक सबै कर्मचारीहरूलाई गोमाबाट फिर्ता गर्ने भएको छ ।

यसैबीच फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँनले हिंसा अन्त्यका लागि विश्वव्यापी आह्वानका बीच आफूले कङ्गो र रुवान्डा दुवैका नेताहरूसँग कुरा गरेको बताएका छन् । कङ्गोले विद्रोही समूह एम२३ लाई समर्थन गरेको आरोपमा छिमेकी रुवान्डासँग कूटनीतिक सम्बन्धविच्छेद गरेको छ ।

प्रतिक्रिया