ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी हत्या घटना : ‘आँसुका व्यापारी’को कठघरामा मृतककी नौ वर्षीया छोरी र आफन्त

मङ्गलबार २६, फागुन २०८२ ११:०८

धनगढी । शनिबार राति कैलालीको धनगढी उपमहानगरपालिका– ७ देवहरियामा ३० वर्षीया सरस्वती अवस्थी जोशी आफ्नै घरमा मृत फेला परिन् । टाउकोमा गम्भीर चोट लागेको अवस्थामा उनको शव फेला परेको थियो । घर नै रगताम्य थियो । घटनास्थल र शवको प्रकृति देखेरै प्रहरी सरस्वतीको हत्या भएको निष्कर्षमा पुग्यो । 

हत्यापछि फरार थिए, सरस्वतीका श्रीमान डम्मरराज जोशी । जसका कारण उनैले हत्या गरेको आशंका प्रहरीको थियो । आइतबार डम्मरलाई बाँंकेबाट प्रहरीले पक्राउ ग¥यो । प्रारम्भिक सोधपुछकै क्रममा डम्मरले आफूले श्रीमतीको हत्या गरेको स्वीकार गरिसकेका छन् । 

सरस्वतीको मृत्युपछि नौ वर्षीया छोरी र पाँच महिने छोराको बिचल्ली भएको छ । आफ्ना नवजात भाइलाई काँखमा च्यापेर नौ वर्षीया बालिका सम्हाल्ने र सम्हालिने प्रयास गरिरहेकी छिन् । आमाको मृत्यु र बुवा प्रहरी हिरासतमा हुँदा उनीहरुलाई सम्हाल्ने प्रयासमा आफन्त छन् । तर, युट्युबरका नानाथरि प्रश्नले उनीहरुलाई झनै पीडा थपिदिएको छ । 

वैज्ञानिक मिडिया, साहरा खबर लगायतका सञ्चार माध्यमले दुधे बालकलाई काँखमा च्यापेर सम्हाल्न खोजिरहेकी मृतककी नौ वर्षीया छोरीको अन्तवार्ता नै लिएका छन् । ‘दुधे भाइलाई काखमा राख्दै घटनाबारे भन्दै आठ वर्षीया छोरी, आमालाई बोलाउँदा बोल्नुभएन,’ शीर्षक राखेर साहरा खबरले नौ वर्षीया नाबालिकाको भिडियो अन्तर्वार्ता लिएको छ । जसमा नाबालिकालाई कसरी घटना भयो ? के भएको हो ? लगायतको प्रश्न सोधिएको छ । पाँच महिने मृतकका छोरालाई पनि भिडियोमा देखाइएको छ ।


वैज्ञानिक मिडियाले ‘नारी दिवसकै दिन कैलालीमा श्रीमतीको हत्या’ शीर्षकमा भिडियो हालेको छ । जहाँ नौ वर्षीया नाबालिकालाई विभिन्न प्रश्न गरिएको छ । हिजो के देखेकी थियौ ? पहिले केही भएको थियो की ? कुन हतियार प्रयोग गरेर हत्या भयो ? लगायतका प्रश्न बालिकालाई सोधिएको छ । 

सञ्चारकर्मीका यस्ता गतिविधिको विरोध पनि भइरहेको छ । ‘हातमा माइक र क्यामरा बोकेर विभिन्न व्यक्तीहरू मृतकको नाबालक छोरीसंग अन्तर्वार्ता लिदै तिम्रो बाबाले ममीलाई मारेका हो ? कसरी मारेको हो ? के भएको हो ? भन्ने जस्ता प्रश्न सोधिरहदा त्यो अबोध बालिकाको मन मस्तिष्कमा कस्तो असर पर्छ होला ?,’ समाजिक सञ्जालमा शान्ती पन्तले लेखेकी छिन्, ‘के भएको हो ? थाहै नभएको ती बालिकालाई यसरी प्रश्न सोध्नु कति असंवेदनशीलता हो ।’

मृतककी छोरीको मात्रै नभएर उनकी सासु र स्थानीय बासिन्दाको वार्ता पनि विभिन्न मिडियामा सार्वजनिक गरिएको छ । 

पीडित पक्षलाई नानाथरि प्रश्नले झनै पीडा हुने भन्दै स्थानीयले विरोध गर्दा पनि युट्युबरले मृतकका आफन्तसंग कुराकानी गर्न छोडेका छैनन् । ‘नाबालिकालाई कसरी हत्या भयो र के भयो ? भन्नेसम्म थाहा छैन,’ स्थानीय आरती जोशीले भनिन्, ‘तर, युट्युबरहरुले अर्धचेत अवस्थामा रहेकी नाबालिकालाई जे पायो त्यहाी प्रश्न गरिरहेका छन् । उनको आँसु बेच्ने प्रयास भइरहेको छ । न्याय दिनुको सट्टा आँसुको व्यापार गर्न थालिएको छ ।’ 

यता जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले नौ वर्षीया बालिकालाई मिडिया ल्याइनु गलत भएको बताए । त्यस्ता गतिविधि गर्नेविरुद्व उजुरी परे कारबाहीको दायरामा ल्याइने उनले बताए । 

स्थानीयका अनुसार हत्या आरोपी डम्मरको मानसिक अवस्था कमजोर छ । शनिबार राति उनले घरबाहिर जाने भनेपछि सरस्वतीले रोक्न खोजेकी थिइन् । सोही क्रममा डम्बरको हातमा चोट लागेको थियो । रिसको झोकमा डम्मरले श्रीमतीको सरस्वतीलाई पानी तान्ने मोटरले प्रहार गरेको बताइएको छ । 

प्रतिक्रिया