ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीका ५० हजार बढी किशोरीलाई एचपिभी खोप लगाइँदै

मङ्गलबार १५, माघ २०८१ ०५:१४

धनगढी । कैलालीका ५० हजार बढी किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । पाठेघरको क्यान्सर विरूद्धको देशव्यापी अभियानअन्तर्गत जिल्लामा उक्त खोप माघ २२ गतेदेखि फागुन ६ गतेसम्म लगाइने भएको हो ।

जोशीपुर गाउँपालिकामा भने माघ २४ गतेदेखि र मोहन्याल गाउँपालिकामा २७ गतेदेखि उक्त अभियान सञ्चालन हुने छ । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले ५० हजार छ सय १६ किशोरीलाई उक्त खोप लगाउने लक्ष्य राखिएको जानकारी दिए ।

‘कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरी र १० देखि १४ वर्ष उमेर समूहका विद्यालय नजाने किशोरीलाई खोप लगाउने लक्ष्य छ,’ मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा कुँवरले भने, ‘जिल्लाका १३ वटै पालिकामा रहेका पाँच सय ४६ विद्यालयलाई खोप केन्द्र बनाएका छौं । एक सय ५९ अन्य स्थानबाट पनि खोप लगाइने छ ।’

कुँवरका अनुसार खोप अभियानका लागि कैलालीमा सात सय पाँच स्वास्थ्यकर्मी चता एक हजार चार सय १० स्वयमसेविका परिचालन गरिएको छ । ‘ नेपाली महिलाहरूमा हुने विभिन्न प्रकारका क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ भने क्यान्सरको कारणबाट महिलाको मृत्यु हुनेमा त्यो पहिलो स्थानमा छ,’ कार्यालय प्रमुख कुँवरले भने, ‘नेपालमा पनि हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको क्यान्सर हुने गरेको छ भने एक हजार ३१३ जना महिलाको सोही क्यान्सरका कारण मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सरको समस्या निराकरण गर्न १० देखि १४ वर्षसम्मका सबै किशोरीहरूलाई एचपिभी खोप दिने अभियान सुरु गर्न लागिएको हो ।’

कार्यक्रममा स्वास्थ्य तालिम केन्द्र धनगढीका निर्देशक नरेन्द्रसिंह कार्कीले उक्त खोप सुरक्षित रहेको बताउँदै ढुक्क भएर खोप लगाउन आग्रह गरे । 
 

प्रतिक्रिया