धनगढी । कैलालीमा रहेको नेपाल–भारत सीमा नाका त्रिनगर–गौरीफन्टामा सोमबार बिहान भिडभाड थियो । सधैँ मजदुरी र किनमेलका लागि भारत जाने नेपालीको लर्को देखिने उक्त नाकामा सोमबार भने फरक दृश्य देखियो । नाकामा भारत जानेभन्दा भारतबाट स्वदेश फर्किने नेपालीको भिड थियो । सोही भिडमा भेटिएका कैलालीका विजय बिकले खाना पकाउने ग्यास पाउनै मुस्किल हुन थालेपछि स्वदेश फर्किएको बताए ।
‘बिसु पर्व (नयाँ वर्ष) पनि आइरहेको छ,’ बिकले भने, ‘चैतको अन्त्यतिर बिसु मनाउनका लागि पनि घर फर्किने सोच थियो । तर, ग्यास पाउन मुस्किल भएपछि अगाडि नै स्वदेश फर्किनु परेको हो ।’ उनका अनुसार खाना पकाउने ग्यासको अभावले मजदुरी गर्ने नेपालीहरु सबैभन्दा बढी प्रभावित भएको बताए ।
डोटीका रोशन खड्काले भने आफू कार्यरत होटल नै बन्द हुने अवस्थामा पुगेपछि स्वदेश फर्किएको बताए । ‘खाने र बस्ने सुविधा होटलमै थियो,’ भारतको मुम्बइबाट स्वदेश फर्किने क्रममा त्रिनगर–गौरीफन्टा नाकामा भेटिएका खड्काले भने, ‘ग्यास अभावले होटल बन्द गर्ने तयारी भयो । बेरोजगार हुने अवस्था आएपछि स्वदेश फर्किएको हुँ ।’
भारतको पुनामा रहेका डोटीकै महेश भट्टले ग्यास र इन्धन अभावले रोजगारीका लागि भारतमा रहेका नेपालीहरुलाई निकै समस्या भएको बताए । ‘होटल व्यवसायमा रोजगारी गरिरहेका अधिकांश नेपाली बेरोजगार हुने अवस्था छ,’ भट्टले भने, ‘कतिपय होटलमा दाउरा बाल्न सुरु भइसकेको छ । कोठामा खाना पकाएर अन्यत्र काम गर्ने नेपालीलाई पनि ग्यास नपाएर समस्या भएको छ ।’ उनका अनुसार भारतका विभिन्न क्षेत्रमा इन्धन बिक्री पनि बन्द गरिएको छ ।
मध्यपूर्वमा जारी युद्धका कारण आपूर्तिमा समस्या भएपछि भारतमा इन्धन र खाना पकाउने ग्यासको वितरणमा कडाए छ । भारतीय सञ्चारमाध्यमका अनुसार ठुला सहरमा २० देखि ३० प्रतिशत होटल त ग्यास अभावले बन्द भएका छन् । विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश भारतमा लाखौंको संख्यामा नेपालीहरु छन् ।सुदूरपश्चिमेलीको रोजगारीका लागि पहिलो गन्तव्य पनि भारत नै हो ।
प्रतिक्रिया