धनगढी । सुदूरपश्चिम प्रदेशका भूमी व्यवस्था कृषि तथा सहकारीमन्त्री बिरबहादुर थापाले छ महिना कैद भुक्तान गर्न बाँकी देखिएको छ । कैद भुक्तानका लागि जिल्ला अदालत कञ्चनपुरले पटकपटक प्रहरीलाई लगत पठाए पनि मन्त्री थापालाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको छ ।
जिल्ला अदालतका तहसिलदार नारायणदत्त ओझाले जेल ब्रेक मुद्वामा थापासहित २०-२१ जनालाई छ महिना कैद सजाय भएको बताए । ‘हामीले समयसमयमा प्रहरीलाई दण्ड जरिबानाको लगत पठाउने गरेका छौं,’ ओझाले भने, ‘उहाँ (मन्त्री थापा)को पनि लगत प्रहरीलाई पठाउने गरेका छौं । प्रहरीले जुनसुकै बेला पनि पक्राउ गर्नसक्छ ।’
अदालतले प्रहरीबाहेक अन्य स्थानीय तह र सरकारी कार्यालयलाई पनि लगत पठाउँदै कैद भुक्तान गर्न बाँकी व्यक्तिको सबै सुविधा रोक्न आदेश गर्दै आएको छ ।
माओवादीमा हुँदा थापा ०५८ मंसिर २९ गते कञ्चनपुरको दैजीको बैतडाबाट पक्राउ परेका थिए । ०६१ भदौ २६ गते कञ्चनपुरमा जेल ब्रेक गर्दै उनी फरार भएका थिए । लामोसमय माओवादीबाट राजनीति गरेका थापा अहिले एमालेमा छन् । उनी एमालेबाट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १(१) बाट प्रदेशसभा सदस्यमा विजयी हुँदै कृषि मन्त्री भएका हुन् । जेल ब्रेकपछि उनीसंगै माओवादी नेता देवीलाल चौधरी पनि फरार भएका थिए ।
यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले अदालतबाट प्राप्त हुने लगतअनुसार फरार प्रतिवादी पक्राउ गर्दै आएको बताए । द्वन्द्धकालका मुद्वको फैसला कार्यान्वयनमा केही समस्या भए पनि अन्य मुद्वाका फरार प्रतिवादी पक्राउमा प्रहरी सक्रियताका साथ लागेको एसपी जोशीले बताए ।
यता अग्रलेखसंग कुराकानी गर्दै मन्त्री थापाले जेल ब्रेक द्वन्द्धकालको राजनीतिक घटना भएको बताए । ‘राजनीतिक घटना भए पनि छ महिना कैद तोकिएकोले कार्यान्वयनका लागि अदालतले प्रहरीलाई लगत पठाउँदै आएको होला,’ उनले भने, ‘दिनको तीन सय रुपैयाँको दरले कैदको जरिबाना तिर्नसक्ने सुविधा पनि छ । त्यस किसिमले हल गर्नेबारे छलफल भइरहेको छ ।’
प्रतिक्रिया