ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी विमानस्थल स्तरोन्नतिको नाममा अनियमितता, प्रेम आलेविरुद्ध उजुरी

मङ्गलबार ०९, बैशाख २०८२ १०:१८

धनगढी । कैलालीकाे धनगढी विमानस्थल स्तरोन्नतिको नाममा अनियमितता भएको आशंका गरिएको छ । जग्गा खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसद्को सार्वजनिक लेखा समितिमा पनि उजुरी परेको छ । 

आलेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ०८१ चैत ११ गते उजुरी परेको थियो । अख्तियारले छानबिन सुरु गरेसँगै पूर्वमन्त्री आलेविरुद्ध लेखा समितिमा पनि उजुरी परेको हो । 

समितिमा परेको उजुरीमा आलेले बैंकलाई समेत गुमराहमा राखेर राज्यको ढुकुटीबाट बजेट दुरुपयोग गरी व्यक्तिगत कम्पनी खडा गर्दै जग्गा खरिद गरेको उल्लेख गरिएको छ । उजुरीमा अशोक जोशी र हेमन्त रेग्मीको नाममा कम्पनी खडा गरिएको उल्लेख छ ।  

त्यस्तै आलेले तत्कालीन मेगा बैंकका कर्मचारी अमित श्रेष्ठ, बिटुमिन ठेकेदार तथा बिचौलिया पवन गुप्ता र आफ्ना पीए र इन्जिनियर अशोक जोशी समेतलाई मिलाएर विमानस्थल आसपासमा पवन गुप्ता र तेन्जिङ शेर्पा समेतबाट जग्गा खरिद गरेको आरोप छ ।

पूर्वमन्त्री आलेले विमानस्थल विस्तार गर्न आवश्यक क्षेत्रमा जग्गा खरिद गरेर धनगढी विमानस्थल क्षेत्रको विस्तार गर्ने भन्दै पर्यटनमन्त्री भएको बेलामा बजेट विनियोजन गरेको उजुरीमा उल्लेख छ । उजुरीमा पूर्वमन्त्री आलेले बजेट छुट्याएसँगै सो क्षेत्रमा जग्गा किनेको चर्चा चलेको लेखिएको छ । 

लेखा समितिमा परेको उजुरीमा पूर्वमन्त्री आलेले गैरकानुनी तरिकाले बैंकका कर्मचारीसँग सेटिङ मिलाएर रकम हत्याएको समेत उजुरीमा उल्लेख छ । बैंकमा सेटिङ गरेर जग्गा धितो राख्दै एक अर्ब ऋण लिएको बताइएको छ । त्यसपछि सोही रकमले उनले धनगढी विमानस्थल आसपासमा ७५ करोड बराबरको ३० बिगाह जग्गा किनेका थिए ।

उनले उक्त समयमा प्रति कट्टा साढे १२ लाखका दरले जग्गा किनेको र पछि विमानस्थल बन्दा ५० लाख प्रति कट्टाका दरले बेच्ने योजना राखेका थिए। तर, विमानस्थल निर्माण कार्य अहिलेसम्म अलपत्र अवस्थामा छ । जग्गा अधिग्रहण समेत हुन सकेको छैन । 

प्रतिक्रिया