धनगढी । बैतडीको क्याब–ग्वालेक जेभीले ०७६ कात्तिकमा पूर्वाधार विकास कार्यालयबाट एकै पटक तीन वटा ठेक्का हात पार्यो । उसले ०७६ कात्तिक ५ गते देहिमाडौं–गिरेगाडा–पञ्चेश्वर सडकको १० किलोमिटर खण्ड कालोपत्रे गर्न र सोही दिन दल्लेक–नागु–सिनासम्म १२ किलोमिटर नयाँ सडक निर्माण गर्न ठेक्का लिएको थियो ।
अढाई वर्षमा सम्पन्न गर्ने सर्तमा ठेक्का लिइएको क्याब–ग्वालेकले साढे पाँच वर्षमा पनि काम सकेको छैन । २८ करोड छ लाख ४८ हजार लागत अनुमान रहेको देहिमाडौं–गिरेगाडा–पञ्चेश्वर सडकको १० किलोमिटर खण्ड १९ करोड १६ लाख १५ हजारमा ठेक्का सम्झौता भएको थियो । १२ करोड ७३ लाख १६ हजार लागत अनुमान रहेको दल्लेक–नागु–सिना निर्माण गर्न सात करोड ७० लाख ११ हजार रुपैयाँमा ठेक्का लागेको थियो ।
पूर्वाधार विकास कार्यालय बैतडीले सोही वर्ष कात्तिक ७ गते देहिमाडौं–गिरेगाडा–पञ्चेश्वर सडकको पाँच किलोमिटर खण्ड पनि कालोपत्रे गर्न क्याब–ग्वालेकलाई नै तेस्रो ठेक्का दिएको थियो । १७ करोड २३ लाख नौं हजार रुपैयाँ लागत अनुमान रहेको सो खण्ड एक वर्षमा कालोपत्रे गर्न क्याब–ग्वालेकले ११ करोड ८८ लाख १२ हजार रुपैयाँ ठेक्का कबोल गरेको थियो । त्यो खण्डको ९० प्रतिशत भौतिक प्रगति भई ८५ प्रतिशत रकम भुक्तानी गरिएको कार्यालयले जनाएको छ ।
ठेकेदारले निर्माणमा ढिलाई गरे पनि भेरिएसन बढेको कारण सम्झौता रकमभन्दा दुई करोड ३२ लाख ७० हजार रुपैयाँ बढी भुक्तानी गरिएको छ ।
सोही कार्यालयले सोही वर्ष दार्चुलाको प्रदेश गौरवको सडक खलंगा–खार–देथला–परिबगर सडकको ५.५ किलोमिटर लम्बाई भएको खलंगा–दल्लेक खण्ड कालोपत्रे गर्न क्याब–ग्वालेकलाई चौथो ठेक्का दिएको थियो । डेढ वर्षमै सक्नुपर्ने त्यो ठेक्काको प्रगति पाँच वर्षसम्म ३५ प्रतिशत मात्रै भएको छ भने क्याब–ग्वालेकलाई ४१.८९ प्रतिशत रकम भुक्तानी दिएको पूर्वाधार कार्यालय प्रमुख इञ्जिनियर धिरेन्द्र भट्टले बताए । उनका अनुसार १६ करोड ६६ लाख २९ हजार रुपैयाँमा सम्झौता भएकोमा छ करोड ९७ लाख १५ रुपैयाँ भुक्तानी भएको छ ।
एकै आर्थिक वर्षमा एउटै कार्यालयबाट चार ठेक्का हत्याएको क्याब–ग्वालेकको ठेक्का पाउने क्रम रोकिएन । अर्को आर्थिक वर्ष २०७६/७७ मा क्याब–ग्वालेकले पूर्वाधार कार्यालय बैतडीबाटै थप चार ठेक्का लियो । ०७७ असार मसान्तमा ९१ कराेड ५५ लाख ६१ हजार लागत अनुमान भएको चार वटा सडक खण्ड निर्माणका लागि ५९ कराेड १२ लाख ५३ हजारमा क्याब–ग्वालेकलाई ठेक्का दिइयो ।
बैतडीको प्रदेश गौरवको सडक सतबाझ–श्रीभावर–हाट–दार्चुला सडकको सतबाझ–श्रीभावर खण्ड र श्रीभावर–हाट खण्ड कालोपत्रे गर्न २०८० असार २० गतेसम्म म्याद दिइएको थियो । तर हालसम्म उक्त खण्डमा क्रमशः ८६ र ८५ प्रतिशत भौतिक प्रगती भएको कार्यालयले जनाएको छ ।
क्याब–ग्वालेकलाई नयाँ सडक निर्माण गर्न गन्ना–गनैखान खडक र तपोबन–निम्ठा–मुरै–विनायक सडक ठेक्का दिइएको थियो । बैतडीको गन्ना–गनैखान खडक निर्माण गर्न ०७९ जेठ ३० गतेसम्मको म्याद दिइएको भए पनि २०८१ असार २५ गते निर्माण सम्पन्न भएको छ । दार्चुलाको तपोबन–निम्ठा–मुरै–विनायक सडक सम्पन्न गर्न २०८० असार २० गतेसम्मको म्याद राखिएको भए पनि हालसम्म ४७ प्रतिशत मात्रै सम्पन्न भएको छ । यो सडकको म्याद आउँदो असार २० गतेसम्मको थप गरिएको पूर्वाधार कार्यालय प्रमुख भट्टले बताए ।
पूर्वाधार विकास कार्यालय बैतडीले क्याब–ग्वालेक जेभीलाई मात्रै नभई अन्य कम्पनीहरुलाई पनि ठेक्कामाथि ठेक्का थपेको छ । ०७७ असार २८ गते कैकै–कुमार–केएस जेभीलाई दार्चुलाको गोकुले–बन्तोली–पनेबाज सडक र बैतडीको पाटन–पञ्चेश्वर सडकको मेलौली–पञ्चेश्वर खण्ड कालोपत्रे गर्नु दुई वटा ठेक्का दिइएको थियो ।
सुरु म्याद सकिएको दुई वर्षसम्म २५ किलोमिटरको पाटन–पञ्चेश्वर खण्डको प्रगति ६५ प्रतिशत मात्रै भएको छ भने १७.५ किलोमिटरको मेलौली–पञ्चेश्वर खण्डको ठेक्काको म्याद सकिएको दुई वर्ष पुगे पनि ७३ प्रतिशत मात्रै प्रगति छ ।
धेरै वटा ठेक्का एकै पटक एउटै कम्पनीलाई दिंदा क्षमताभन्दा बढी काम भएर आयोजना निर्माणमा ढिलाई भइरहेको छ । निर्माण कम्पनीको क्षमता र कामको लोड जाँच गरेर मात्रै आयोजनाको ठेक्का दिनुपर्ने विज्ञहरु बताउँछन् ।
पूर्वाधार विकास कार्यालय बैतडीले सञ्चालन गरेको २३ वटा बहुवर्षीय ठेक्कामध्ये सात वटा ठेक्का मात्रै सम्पन्न भएका छन् । कार्यालयका अनुसार २०७५/७६ देखि २०७९/८० सम्म सञ्चालन गरिएका १६ वटा ठेक्काहरुको प्रगति सुस्त छ ।
प्रतिक्रिया