धनगढी । जेनजी समूहको आन्दोलनका क्रममा कैलाली कारागारबाट भागेका दुई सय ५९ जना कैदीबन्दी अझै फरार रहेका छन् । कारागारबाट भागेका छ सय ६५ कैदीबन्दीमध्ये चार सय छ जना कैदीबन्दी कारागार फर्किएका छन् । कतिपय आफै कारागार फर्किएका हुन् भने कतिपयलाई प्रहरी टोलीले पक्राउ गरेको हो ।
कारागार प्रशासनले दिएको तथ्यांकअनुसार फरार कैदीबन्दीमध्ये सबैभन्दा बढी लागुऔषध मुद्दाका छन् । लागुऔषध मुद्दाका ९३ जना, जवरजस्ती करणी र हाडनाता करणी मुद्दाका ७७ जना, कर्तव्य ज्यान, ज्यान सम्बन्धी कसुर र आत्महत्या दुरुत्साहन मुद्दाका ४७ जना कैदीबन्दी फरार छन् । यस्तै चोरी मुद्दाका आठ, चोरी पैठारीका पाँच, मानव बेचविखन तथा ओसारपसार मुद्दाका पाँच जना कैदीबन्दी फरार छन् ।
ज्यान मार्ने उद्योग, डाँका चोरी, हातहतियार तथा खरखजना, ठगी तथा किर्ते, वन तथा वन्यजन्तु सम्बन्धी कसुर, सवारी ज्यान, अपहरण तथा शरीर बन्धक, बैंकिङ कसुर र सार्वजनिक अपराध मुद्दाका केही कैदीबन्दी पनि अझै पक्राउ परेका छैनन्।
जघन्य अपराधमा सजाय भोगिरहेका कैदीबन्दी पनि फरार हुँदा जिल्लामा सुरक्षा चुनौती बढेको छ । यता फरार कैदीबन्दीलाई स्वेच्छिक रूपमा फर्किन प्रशासनले दिएको समयावधि सकिएपछि प्रहरीले विशेष अभियान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार फरार कैदीबन्दी पक्राउ गर्नका लागि विशेष प्रहरी टोली परिचालन गरिएको छ । कैदीबन्दी देखिए तुरुन्त प्रहरीलाई जानकारी गराउन पनि अनुरोध गरिएको कैलाली प्रहरीले जनाएको छ ।
जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा फरार बन्दी पक्राउ कार्यदल पनि बनाइएको छ ।
प्रतिक्रिया