धनगढी । गौरीफण्टा नाका हुँदै स्वदेश फर्किएका तीन जनामा कोरोना संक्रमण देखिएको छ । त्रिनगर सीमा नाकामा भारतबाट फर्किएका ३६ जनाको एण्टीजेन परीक्षण गर्दा तीन जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना देखिनेमा दुई पुरुष र एक महिला रहेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । केन्द्रका फोकल पर्सन हेमराज जोशीले धनगढी घर भएकी २४ वर्षीया महिला तथा अछामको ढकारी घर भएका ३२ वर्षीय पुरुष र कञ्चनपुरको पुनर्वास घर भएका २० वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी दिए ।
फोकल पर्सन जोशीका अनुसार उनीहरु भारतको दिल्ली, पञ्जाब र गुजरातबाट स्वदेश फर्किएका हुन् । उनीहरुमा ज्वरो र रुघाखोकीको लक्षण देखिएको केन्द्रले जनाएको छ । ‘तीनै जनालाई ‘होम आइसोलेसन’मा बस्न भनेर पठाएका छौँ’ जोशीले भने ।
फोकल पर्सन जोशीले नयाँ भेरियण्टको कोरोना हो की भनेर पीसिआरबाट परीक्षण गर्न तीनै जनाको नमुना संकलन गरेर काठमाडौँ पठाइएको छ । उनले भारतमा कोरोना संक्रमण बढेकाले त्रिनगर नाकामा आजैबाट कोरोना परीक्षण सुरु गरिएको जानकारी दिए । पछिल्लो समय भारतका विभिन्न सहरमा कोरोना संक्रमण बढेको खबरहरु सार्वजनिक भइरहेका छन् ।
प्रतिक्रिया