धनगढी । नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अध्यापन सुरु गर्ने तयारी थालिएको छ । कैलालीको गेटामा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्यापनको तयारी थालिएको हो । सोही तयारीअनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकका लागि आवेदन खोलेको छ ।
२६ जना प्राध्यापक र सहप्राध्यापक तथा ५१ जना उपप्राध्यापक गरी ७७ जनाका लागि आवेदन खोलिएको हो । विश्वविद्यालयले करार सेवामा पदपूर्ति गर्नका लागि विज्ञापन खोलेको जनाएको छ । फागुन १४ गतेसम्म आवेदन दिन इच्ुकलाई आग्रह गरिएको छ ।
विश्वविद्यालयले पुस तेस्रो साता मात्रै उपकुलपति र रजिस्ट्रार पाएको थियो । तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको अध्यक्षतामा बसेको सभाको दोस्रो बैठकले उपकुलपतिमा प्रा.डा. सुनिलकुमार जोशी र रजिस्ट्रारमा डा. खेमराज जोशीलाई नियुक्त गरेको थियो ।
रजिस्ट्रार जोशीका अनुसार आगामी शैक्षिक सत्रदेखि विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्ययनको थालनी गर्ने तयारी छ । ‘हामीले एमबीबीएस, बिएस्सी एमएलटी, बिएस्सी नर्सिङ लगायतमा अध्यापन सुरु गर्ने तयारी गरिरहेका छौं,’ उनले भने, ‘अध्ययन सुरु गर्न चिकित्सा शिक्षा आयोगले अनुमति दिनुपर्ने हुन्छ ।’
गेटामा झण्डै सात अर्बको लागतमा पूर्वाधार निर्माणको काम सकिएको दुई वर्ष भइसकेको छ । लामो समयसम्म सञ्चालनको प्रारुपबारे विवाद हुँदा अन्योलता बढेको थियो । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धमा व्यवस्था गर्न बनेको ऐन प्रतिनिधिसभाबाट पारित भएर ४ असारमा नेपाल सरकारको राजपत्रमा प्रकाशन भएपछि विश्वविद्यालय सञ्चालनका प्रक्रिया अगाडि बढेका हुन् ।
प्रतिक्रिया