काठमाडौँ । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुण चौधरीको मुद्दाको सुनुवाइ आज हुने भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले गठन गरेको संवैधानिक इजलासमा सांसद चौधरीसहित १६ वटा मुद्दाको पेशी आज तोकिएको छ ।
इजलासमा प्रधान न्यायाधीश राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा छन् । पेशी तोकिएका मुद्दामध्ये अधिवक्ता वसन्त जोशीको हेर्दाहेर्दै रहेको छ । सांसद चौधरीविरुद्धको यो मुद्दामा निर्वाचन आयोगलाई समेत विपक्षी बनाइएको छ ।
नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद चौधरीलाई पदबाट निलम्बन गर्न उक्त रिटमा माग गरिएको छ । रिटमा निर्वाचनको समयमा आफूमाथि कुनै पनि फौजदारी अभियोग नभएको र कैदसमेत नबसेको खुलासा भएकाले सांसद पदबाट निलम्बन गर्नुपर्ने माग गरिएको छ । यो निर्वाचनको समयमा कसुर लिएका र निर्वाचित भएको भनी नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी विरुद्धको रिट हो ।
सांसद चौधरी यो मुद्दामा २०७९ माघमा पक्राउ परेका थिए । प्रहरीले उनलाई जिल्ला अदालत कैलालीमा बुझाएपछि अदालतले कारागार चलान गरेको थियो । तर उनी २०७९ फागुन ७ गते राष्ट्रपतिबाट माफी पाउँदै रिहा भएका थिए ।
आगजनी मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार रहेको फैसला कार्यान्वयन बाँकी रहेको देखिएपछि प्रहरीले उनलाई बाँकेबाट पक्राउ गरेर कैलाली कारागार बुझाएको थियो । अदालतले उनलाई ट्याक्टर आगजनीको मुद्दामा २०७० सालमा दोषी ठहर गर्दै सजाय सुनिाएको थियो ।
२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते महादेव बजगाइँले कैलाली जिल्ला अदालतमा उनीसहित तीन जना विरुद्ध मुद्दा दायर गरेका थिए । ट्याक्टरमा आगजनी गरेको कसुरमा कैलाली जिल्ला अदालतले २०७० सालमै उनीलगायत ३ जनालाई बिगोसहित ६ महिना कैदको फैसला सुनाएको थियो ।
कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते सांसद चौधरीसहित परशुराम चौधरी र वीरबहादुर चौधरीका नाममा ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने समेत फैसला सुनाएको थियो । उनले अदालतको फैसला अनुसार सजाय भुक्तान नगरेको भन्दै अदालतले कारागार चलान गरेको हो ।
२०६६ भदौ ३ गते बन्दको अवज्ञा गरेको भन्दै ट्याक्टर जलाएको आरोपमा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनामाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । तर उनीहरू फरार भएका थिए । उनी २०७९ वैशाखको प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
प्रतिक्रिया