टीकापुर । रानीजमरा कुलरिया सिँचाइ आयोजनाअन्र्तगत निर्मित विद्युत गृहमार्फत उत्पादन सुरु भएको डेढ वर्षसम्म पनि सञ्चालन तथा व्यवस्थापन कार्यविधिको टुंगो लाग्न बाँकी रहेको छ । राष्ट्रिय गौरवको सिँचाइ आयोजनाले जानकी गाउँपालिका– ९ कटासेमा विद्युत गृह निर्माण गरेर उत्पादन सुरु गरेको छ । ४.७१ मेघावाट क्षमताको विद्युत गृहले २०८० माघ १६ गते परीक्षण उत्पादन सुरु गरेको इन्जिनियर अनिष श्रेष्ठले जानकारी दिए ।
‘त्यस यता पूर्ण क्षमतामा विद्युत उत्पादन भइरहेको छ,’ उनले भने, ‘कहिले काँही समस्या आउने कुरा सामान्य हो ।’ आयोजनाले उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको लम्कीस्थित प्रशारण केन्द्रमा पठाएको छ । प्रशारण केन्द्रले सो विद्युत ३३ केभी मार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडेको छ ।
विद्युत गृहले नियमित उत्पादन गर्दै आएको भए पनि सञ्चालन तथा व्यवस्थापन कार्यविधिको भने अझै टुंगो लाग्न सकेको छैन । आयोजनाले २०८० पुस महिनामै सञ्चालन तथा व्यवस्थापन कार्यविधि तयार पारेर स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा बुझाएको थियो ।
कार्यविधिमा सो मन्त्रालयका सचिवको अध्यक्षतामा चार सदस्यीय समिति गठन गर्ने उल्लेख छ । सो समितिको सदस्यहरुमा महानिर्देशक, उपमहानिर्देशक र आयोजना प्रमुख रहने व्यवस्था गरिएको छ ।
सोही समितिले उत्पादित विद्युत खरिदबिक्रीका बारेमा नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गर्ने उल्लेख छ । कार्यविधिमा विद्युत बिक्री गरेबापतको रकम समितिको खातामा जम्मा हुनुपर्ने व्यवस्था गरिएको छ ।
समितिले विद्युत गृह सञ्चालन र मर्मत बाहेकको रकम आम्दानीका रुपमा राजस्वमा दाखिला गर्ने गरी आयोजनाले कार्यविधि तयार पारेको छ । सो कार्यविधिका बारेमा अझैसम्म पनि अध्ययन भइरहेको इन्जिनियर श्रेष्ठले जानकारी दिए ।
आयोजनाले पेश गरेको कार्यविधिअनुसार नै अघि बढ्ने वा फेरबदल गर्ने बारेमा अध्ययन भइरहेको स्रोतले जानकारी दिएको छ । मन्त्रालयले अध्ययन पश्चात कार्यविधि स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश गर्नुपर्नेछ । अर्थ मन्त्रालयको स्वीकृतिपछि मात्रै कार्यविधि कार्यान्वयनमा आउने बताइएको छ ।
अझैसम्म पनि कार्यविधि अध्ययन र स्वीकृतिको काम अघि नबढेपछि विद्युत गृह सञ्चालनका बारेमा अन्योलता सिर्जना भएको छ । उत्पादन सुरु गरे पनि विद्युत गृहले आयोजनालाई व्ययभार थपेको छ । आयोजनाले विद्युत बेचेर वार्षीक ३० करोड आम्दानी गर्नेछ ।
चार वर्षमा विद्युत गृहको सम्पूर्ण लगानी असुल हुनेछ । विद्युत गृह निर्माणमा एक अर्ब रुपैयाँ खर्च भएको छ । विद्युत गृहले २५ वर्षमा सम्पूर्ण सिँचाइ आयोजनाको लगानी असुल्ने अनुमान गरिएको छ ।
सिँचाइसँगै विद्युतसमेत उत्पादन थालेको उक्त आयोजना देशकै नमूना बहुउदेश्यीय परियोजना हो । आयोजनाले सिँचाई, विद्युत, नदी नियन्त्रण, सडक र कृषि उत्पादनलाई प्राथमिकतामा राखेको छ ।
सञ्चालन तथा व्यवस्थापन कार्यविधिको टुंगो नलाग्दै आयोजना उद्घाटनको तयारी भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विद्युत गृह उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजनाले जनाएको छ ।
प्रतिक्रिया