ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा खाद्यले कहिलेबाट सुरु गर्छ धान खरिद ?

आइतबार ०९, कार्तिक २०८२ ०२:०४

धनगढी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुदूरपश्चिम प्रादेशिक कार्यालयले धान खरिद गर्ने तयारी थालेको छ । गल्ला व्यापारीले समर्थन मूल्यभन्दा कम मूल्यमा धान किन्न थालेपछि दबाबमा परेको कैलालीस्थित प्रादेशिक कार्यालयले धान खरिदको तयारी थालेको हो । 

प्रादेशिक कार्यालय प्रमुख दीपक थापाका अनुसार धान खरिदका लागि आन्तरिक तयारी सकिएको छ । ‘प्रादेशिक कार्यालयले गर्नुपर्ने तयारी पूरा भएको छ,’ थापाले भने, ‘तर, केन्द्रबाट परिपत्र आइसकेको छैन । केन्द्रले कोटा निर्धारण गर्दै परिपत्र गरेपछि धान खरिदको कार्य सुरु हुन्छ ।’ 

थापाका अनुसार ११, १२ गते भित्रैदेखि धान खरिदको तयारीमा प्रादेशिक कार्यालय छ । ‘गतवर्ष धान खरिदका लागि कैलालीमा ५५ हजार क्विन्टलको कोटा निर्धारण गरिएको थियो,’ थापाले भने, ‘यसवषर्् बजेट कम विनियोजन भएको हुँदा कोटा घट्ने देखिएको छ ।’

कैलालीमा विगतदेखि नै छ वटा खरिद केन्द्र छन् । टीकापुर, सत्ती, भजनी, जोशीपुर, गौरीगंगा र मोहनपुर केन्द्रबाट धान खरिद गर्ने तयारी रहेको कार्यालय प्रमुख थापाले बताए । खाद्य कम्पनीले हरेक वर्ष सरकारले निर्धारण गरेको मूल्यमा किसानबाट धान खरिद गर्ने गर्छ । तर, खाद्यले ढिलो गरी खरिद गर्दा किसानले व्यापारीले तोकेको मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यता छ । खाद्यले खरिद सुरु गरेपछि भने व्यापारीले पनि मूल्य बढाएर खरिद गरेको विगतको अभ्यास छ । 

नेपाल सरकारको मन्त्रिपरिषद्को २६ साउनको बैठकले यसवर्ष मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३.८१ रुपैयाँ र मध्यम धानको मूल्य तीन हजार ६२८.३३ रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया