धनगढी । १५ असोजमा जिल्ला प्रहरी कार्यालय कैलालीको टाइगर टोलीले धनगढीको मिलनचोकबाट भन्सार छलीको सामान बरामद ग¥यो । सु.प.प्र. ०१–००१ च ४३१६ नम्बरको स्कारपियोमा थियो भन्सार छलीको उक्त सामान । गाडी चालकले टाइगर टोलीलाई सशस्त्र प्रहरीको बडाभोजका लागि भारतीय बजारबाट सामान ल्याएको बताएका थिए । तर, गाडीमा ५३ सेट कुर्ता, २० सेट धोती, सात सेट ब्लाउज, सात सेट अन्डरवेयर, छ सेट गन्जी, ५० किलो चिनी, दुई पेटी तेल र दुई कट्ठा नरिवललगायतका सामान थियो ।
बडाभोजमा आवश्यकनै नपर्ने सामान भेटिएपछि टाइगर टोलीले सामान नियन्त्रणमा लियो । पछि उक्त सामान बडाभोजका लागि नभएर मद्धती तथा सेवा निर्देशनालय गुल्म अत्तरियामा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सइ) अमर बिष्टले तस्करी गर्दै ल्याएको पुष्टि भयो । भारतबाट डोकेबजारसम्म आफै सामान लिएर आएका सइ बिष्ट त्यहाँबाट सु.प.प्र ०१–००८ प ६५९८ नम्बरको मोटरसाइकलमा धनगढीतर्फ हिँडेका थिए । सामान बरामदपछि पनि बडाभोजका लागि सामान ल्याएको भन्दै बिष्टले बरामद नगर्न टाइगर टोलीका सदस्यलाई आग्रह गरेका थिए ।
मद्धती गुल्मका इञ्चार्जले बडाभोजबारे आफूलाई जानकारी नभएको र कसैलाई सामान ल्याउन नपठाएको बताएपछि सइ बिष्ट तस्करीमा संलग्न भएको आशंकमा नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले कारबाही अगाडि बढाएको थियो । भारतबाट अवैध रुपमा सामान ल्याएको तथ्य खुलेपछि उनलाई नम्बर ३४ गण कैलालीले नियन्त्रणमा पनि लिएको थियो । तस्करीमा संलग्न भएको भेटिएपछि बिष्टलाई नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विभागीय कारबाही ग¥यो । अहिले सई बिष्टले जागिरबाट राजीनामा दिइसकेका छन् ।
आफैँ तस्करीमा संलग्न भएको भन्दै कारबाहीमा पर्ने बिष्ट एक्ला सशस्त्र प्रहरी होइनन् । मद्धती तथा सेवा निर्देशनालय गुल्म अत्तरियाममै कार्यरत अन्य दुई जना सशस्त्र प्रहरी पनि कारबाहीमा परिसकेका छन् । सशस्त्र प्रहरी हवल्दार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार रामबहादुर कुँवरलाई पनि तस्करीमा संग्लन भएको भन्दै सशस्त्रले विभागीय कारबाही गरेको छ ।
कैलालीमा सशस्त्र प्रहरीको ‘इन्टिलिजेन्स युनिट’मा ‘घुमुवा’का रुपमा कार्यरत अधिकारीहरुको संरक्षणमा समेत तस्करी हुँदै आएको आरोप लाग्दै आएको छ । ‘इन्टिलिजेन्स युनिटका धेरैजसोको कामनै तस्करलाई संरक्षण गर्ने हो,’ नेपाल प्रहरीका एक अधिकारीले भने, ‘केही समयअघिसम्म एकजना सशस्त्र प्रहरी निरीक्षकले नै तस्करीमा संग्लनलाई संरक्षण गरिरहेका थिए । अहिले उनको सरुवा भइसकेको छ ।’
ती अधिकारीका अनुसार भारतीय सामान बिक्री गर्ने नेपाली व्यापारीबाट सशस्त्र प्रहरीले रकम असुल्दै आएको छ । ‘मागेअनुसार रकम र जिन्सी सामान दियो भने सशस्त्रका घुमुवाले ती व्यापारीलाई संरक्षण गर्ने गर्छन्,’ उनले भने, ‘कुरा नमिलेपछि नाकामै खटिएर अवैध सामान भन्दै बरामद गर्ने गरिन्छ ।’
तस्करीमा संरक्षणमात्रै नभएर लामोसमयदेखि एकै ठाउँमा कार्यरत सशस्त्र प्रहरीहरु आफै पनि तस्करीमा संलग्न रहने गरेको आरोप लाग्ने गरेको छ । ‘कतिपय प्रहरीले भन्सार छलेर सामान ल्याउने र नेपाली व्यापारीलाई बिक्री गर्ने काम गर्दै आएका छन्,’ एक व्यापारीले भने ।
यता सशस्त्र प्रहरी नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक (एसएसपी) उद्धव न्यौपानेले भने तस्करीका विषयमा गुनासो आउनेवित्तिकै कारबाही गरेको बताए । ‘तीन जना सशस्त्र प्रहरीलाई हामीले कारबाहीनै गरेका छौँ,’ न्यौपानेले भने, ‘तस्करीमा पनि सशस्त्र प्रहरीका विषयमा गुनासो आउन थालेपछि हामीले निगरानी बढाएका छौँ ।’
सशस्त्र प्रहरीमात्र होइन, नेपाल प्रहरीमाथि समेत तस्करी र तस्करलाई संरक्षण गरेको आरोप लाग्ने गरेको छ । खुला सीमाना तथा नाकाबाट ‘सेटिङ्ग’मा सामान पास गराउन नेपाल प्रहरीकै कतिपय घुमुवा संलग्न रहने गरेको व्यवसायीहरु बताउँछन् ।
सामान बरामद हुन्छ, पक्राउ पर्दैनन् तस्कर
कैलालीमा एक सय एक किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ । सीमा सुरक्षा र तस्करी नियन्त्रणकै लागि भनेर सीममा सशस्त्र प्रहरीका १४ वटा बीओपी र अन्य गुल्म गरी १९ वटा युनिट स्थापना गरिएका छन् । ती युनिटहरुले दैनिक रुपमा भन्सार छलीको सामान बरामद गर्दै आएका छन् । त्यसरी सामान ल्याउनेहरु भने प्राय पक्राउ पर्दैनन् ।
सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको चार महिनामा मात्रै तीन करोड रुपैयाँ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । भन्सार छलेर सामान ल्याउनेहरु पक्राउ परेका छैनन् । सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वाटर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले सामानसँगै संलग्न व्यक्तिलाई पनि पक्राउ गर्न आदेश दिएको बताए ।
प्रतिक्रिया