ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

चौकीडाँडा–ओलानी सडकमा सम्झौता मिच्दै निर्माण कम्पनी

मङ्गलबार १८, कार्तिक २०८२ ०३:५२

धनगढी । स्थानीय सरकार नै सडकमा उत्रिएपछि चौकीडाँडा–ओलानी–फल्टुँडे सडक तत्काल निर्माण गर्ने प्रतिवद्धता जनाएका ठेकेदार कम्पनी पुनः सम्झौता मिच्न थालेका छन् । स्थानीय सरकार आन्दोलित भएपछि प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको सम्झौता बमोजिम अहिले सबबेसको काम सकिएर धमाधम बेस निर्माणको काम हुनुपर्ने थियो ।

तर, दुई वटा ठेक्कामध्ये एउटा ठेकदार पुनः सम्पर्कविहीन भएको छ भने अर्को ठेकेदारले सबबेस हालेको छ । योजना सञ्चालन गरिरहेको पूर्वाधार विकास कार्यालय कैलालीका अनुसार पहिलो खण्डको ठेक्का लिएको एड्भेन्चर–थेगिम–सनलाइट जेभीले बेसको काम गरिरहेको छ भने दोस्रो खण्डको ठेक्का लिएको टेडी निर्माण सेवा प्रालिले सबबेसकै काम अल्झाएको छ ।

सो सम्झौता बमोजिम काम नभएपछि गोदावरी नगरपालिका वडा नं. ३, १०, ११ र १२ का वडाध्यक्षहरु पूर्वाधार विकास कार्यालय पुगेर ठेकेदारले काम नगरेको गुनासो गरेका छन् । उनीहरुको गुनासोपछि कार्यालयले ठेकेदारहरुलाई पत्र काटी सात दिनको म्याद राखेर पत्र काटेको छ ।

सम्झौतामा ठेकेदारले असोज ३० भित्र सबबेसको काम सक्ने, कात्तिक ३० भित्र बेसको काम सक्ने, मंसिर १५ भित्र पहिलो लेयरको कालोपत्रे हाल्ने, फागुन १५ भित्र दोस्रो लेयरको कालोपत्रे सक्ने र चैत ३० भित्र रोड फर्निचरको काम पनि सक्याएर हस्तान्तरण गर्ने उल्लेख छ । सम्झौतामा थेगिमको तर्फबाट अनिता पन्त र नारायण कडेलले हस्ताक्षर गरेका छन् भने टेडीको तर्फबाट दिलबहादुर ओलीले हस्ताक्षर गरेका छन् । रोहबरमा पूर्वाधार विकास कार्यालयका इञ्जिनियर जनक रोकाया, जितेन्द्रसिंह धामी, गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट तथा चार वटै वडाका वडाध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि थेगिमले काम गरिरहेको भए पनि टेडीले सम्झौताको दुई–तीन दिनसम्म मात्रै काम गरी सम्पर्कविहीन भएको वडा नं. १२ का वडाध्यक्ष भीमबहादुर खड्काले बताए । ‘थेगिमले सम्झौता अनुसारको समयमा काम नगरे पनि निरन्तर काम गरिरहेको छ,’ उनले भने, ‘सम्झौता गरेको दुई–तीन दिन काम गरेर टेडी सम्पर्कविहीन भयो । हामीले टेडीको सञ्चालकलाई फोन गर्दा रिसिभ हुँदैन ।’

डेढ वर्षमै निर्माण सम्पन्न गर्ने सर्तमा थेगिमले एड्भेञ्चर र सनलाइट कन्स्ट्रसनको जेभीमा पूर्वाधार विकास कार्यालय कैलालीले २०७७ साउन २४ गते सो सडकको चौकीडाँडाको कृष्ण मन्दिरदेखि वडा नं. १० को कार्यालयसम्म अढाई किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का लिएको थियो । पाँच करोड ४८ लाख २५ हजार १३ रुपैयाँमा ठेक्का कबोल गरेको थेगिमले काम नै नगरी पटक पटक म्याद थप लिंदै जाँदा ६ वर्षदेखि सडक नै अलपत्र पर्न पुगेको छ ।

पूर्वाधार विकास कार्यालयले सोही सडकमा थप तीन किलोमिटर (१० नम्बर वडा कार्यालयदेखि बांगेसालसम्म) सडक कालोपत्रे गर्नका लागि २०७९ चैत १७ गते अर्को ठेक्का लगाएको थियो । सो ठेक्का अढाई वर्षमा सम्पन्न गर्ने गरी छ करोड ६१ लाख ४१ हजार २०६ रुपैयाँमा तेडीले लियो । यो ठेक्काको म्याद २०८१ साउन १७ गते सकिएपनि तेडीले काम गरेको छैन । पटक पटक म्याद थप गरेपनि तेडीले काम नगरेपछि यो ठेक्का पनि अलपत्र गरेको छ ।

यि दुबै ठेक्काको भौतिक प्रगति ५०–५० प्रतिशत रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । पूर्वाधार कार्यालयका ईञ्जिनियर जितेन्द्रसिंह धामीले थेगिमले आफ्नो ठेक्कामा केही दिनमै पहिलो लेयरको कालोपत्रे हाल्ने अवस्थामा पुग्ने बताए । उनले टेडीले काम नगरेको हुँदा उसलाई पछिल्लो सम्झौताको समय सीमाभित्र काम नसक्ने देखिएको बताए । ‘थेगिमले निरन्तर काम गरे समयमा ठेक्का सम्पन्न गर्न सक्छ,’ उनले भने, ‘टेडीले काम सक्ने जस्तो देखिएको छैन । माग गरे त टेडीले पनि सक्छ । तर काम नै गरेको छैन ।’
टेडीले सो ठेक्का काम सक्ने म्याद पुस ३० गतेसम्म थियो भने प्रदेश सरकारले थेगिमलाई २०८३ असार २० गतेसम्मको म्याद थपिदिएको थियो । तर, पछिल्लो सम्झौता बमोजिम दुबै ठेकेदारहरुलाई आउँदो चैत ३० गतेसम्म म्याद दिने सहमती बनेको थियो ।

यि दुबै ठेक्काको काम गराउनका लागि सो सडकमा पर्ने गोदावरीको ३, १०, ११ र १२ नम्बर वडा कार्यालय जेनजी आन्दोलन अघि सडकमै कार्यालय सञ्चालन गरी विरोध गरिएको थियो । सो विरोधपछि भदौ २३ गते ठेकेदार र आन्दोलनरत स्थानीय सरकारबीच पूर्वाधार विकास कार्यालय र प्रमुख जिल्ला अधिकारीको रोहबरमा सम्झौता भएको थियो ।
चौकीडाँडादेखि बान्द्रे खालसम्मको सडकको लम्बाई १६ किलोमिटर छ भने यो सडकलाई फल्टुडेसम्म विस्तार गरी महाकाली हाइवेसंग जोड्ने योजना छ । प्रदेश सरकारले बांगेसालसम्मको सडक ठेक्का लगाए छ भने बांगेसालदेखि ओलानी, बान्द्रेखाल हुँदै कोलमुडासम्म सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का लगाएको छ ।

संघीय ठेक्काबाट भइरहेको कामबाट प्रगति भएपनि प्रदेशको ठेक्का अलपत्र परेको गोदावरी वडा नं. १२ का वडाध्यक्ष भीमबहादुर खड्काले बताए । उनले बांगेसालदेखि ओलानीसम्म कालो पत्रे भइसकेको बताउँदै छिट्टै कोल्मुडासम्म सडक कालोपत्रे हुने बताए । यो सडकको बान्द्रै खालबाट कोलमुडा हुँदै फल्टुडेसम्म ट्रयाक पहिले नै खोलिसकिएको छ । सो सडकका लागि पूर्वाधार विकास तथा यातायात मन्त्रालयले चालुवर्ष ११ करोड रुपैयाँ विनियोजन गरेपनि जेनजी आन्दोलनपछि बनेको सरकारले तत्कालका लागि सो बजेट कार्यान्वयन नगर्न परिपत्र गरी रोक्का गरेको छ ।

प्रतिक्रिया