धनगढी । नेकपा एमालेका सचिवसमेत रहेका सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टका भाइ गोकर्ण भट्टले शुक्रबार पार्टी छोडेको घोषणा गरे । २०३६ सालदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय रहेका भट्टले एमाले जनविरोधी पार्टी रहेको भन्दै सदस्यता परित्याग गरेको घोषणा गरेका हुन् । जनविरोधी पार्टीको सदस्य भएको नाताले आत्मआलोचित हुँदै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सचिवालय सदस्य तथा एमालेको पार्टी सदस्यतासमेत परित्याग गरेको घोषणा भट्टको छ ।
‘गुटबन्दी, अवसरवाद, धनवाद, डनवाद र यौनवादमा पार्टी चुर्लुम्मै उठ्नै नसक्नेगरी डुब्यो,’ भट्टले भनेका छन्, ‘पार्टीभित्र इमान्दार नेता र कार्यकर्ताको मूल्यांकन हुन छोड्यो । पार्टी नेतृत्व चरम अवसरवादमा गयो । जसको परिणाम जनचाहनाविपरीत दुई ठुला दलको अपवित्र गठबन्धनले मुलुक अस्थिरताको खाडलमा जाकिन पुग्यो । नेपालका राजनीतिक दलहरुप्रति वितृष्णा पैदा गर्यो । भ्रष्टाचारले सिमा नाघ्यो ।’
एमालेमा रहँदा जहिल्यै पनि चरम गुटबन्दी र अपमानको सिकार भएको भट्टले आरोप लगाएका छन् । भट्ट ०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट गोदावरी नगरपालिकाको मेयरका उम्मेदवार थिए । उक्त निर्वाचन एमालेसंग पराजित भएका भट्ट ०७९ सालमा एमालेबाटै मेयर पदको उम्मेदवार थिए । तर, ०७९ सालको निर्वाचनमा पनि उनी पराजित भएका थिए । ‘पार्टीभित्रकै अन्तरघात तथा मासुभात र रक्सी खुवाउन नसक्दा पराजित भए,’ उनले भनेका छन्, ‘पराजित भए पनि राजनीतिक प्राणी भएपछि विजयी–पराजयलाई सहर्ष स्वीकार गर्नु पर्छ भन्ने मान्यता बोकेर पार्टीकाममा निरन्तर लाग्दै आएको थिए ।’
भट्टले जेनजी आन्दोलनमा अराजक तत्वको घुसपैठ भएको पनि बताएका छन् । २३ गते निर्दोश युवाहरुको ज्यान लिइएको र २४ गते घुसपैठ गरी देशलाई खरानी बनाइएको आरोप उनको छ । ‘यसको जिम्मवारी मुलुक सञ्चालनको जिम्मेवारी लिएका राजनीीतक पार्टी र त्यसको नेतृत्वले लिनु पर्दैन ?,’ उनले भनेका छन्, ‘जिम्मेवारी लिनुको साटो अराजक अभिव्यक्ति दिँदै दम्भ र अहंकारले मुलुक थपजटिल मोडमा गइरहेको यथार्थलाई कसैले नकार्न सक्दैन ।’ भट्टले अब आफू स्वतन्त्र रहेको घोषणा गर्दै समाज र नागरिकका लागि क्षमताले भ्याएसम्म सेवा गर्ने बताएका छन् ।
प्रतिक्रिया