धनगढी । बाजुरास्थित सबै राजनीतिक दलहरुले विकास निर्माणको अवस्थाबारे समीक्षा गर्दै जिल्लाको विकासमा एकमत हुने समझदारी गरेका छन् । जिल्ला समन्वय समितिको संयोजनमा शुक्रबार सदरमुकाम मार्तडीमा भएको बैठकमा यस्तो सहमति भएको हो ।
बैठकले बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापनाको लागि पहल गर्ने, सेती लोकमार्ग निर्माण, हाल जडांगामा रहेको बेलिब्रिज स्थानान्तरण गर्ने, कोल्टी–मार्तडी सडक खण्डको स्तरोन्नति र बस सञ्चालनमा राजनीतिक दलहरुले सामूहिक पहल गर्ने समझदारी गरेको जिल्ला समन्वय अधिकारी दीपेन्द्र पाण्डेले बताए ।
यसै बाजुरामा मदिरा व्यवस्थापन गर्न जिल्ला समन्वय समिति, स्थानीय तहहरु र प्रशासनलाई सबै राजनीतिक दलले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय समन्वयात्मक बैठकमा प्रतिनिधि सभा सदस्य दयालबहादुर शाही, पूर्वमन्त्री एवं एमाले नेता कर्णबहादुर थापा, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, एमाले नेता सहदेव बोगटी, कांग्रेस नेता कविराज पण्डित, एमाले जिल्ला अध्यक्ष लालबहादुर ओली, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष पुरबहादुर रावत, दीर्घराज पाध्याय, माओवादी केन्द्रका कमलकुमारी शाहलगायतको उपस्थिति रहेको समन्वय अधिकारी पाण्डेले बताए ।
प्रतिक्रिया