धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले फागुन २१ गते नै निर्वाचन हुने दाबी गरेका हुन् । `यो सरकारको मुख्री जिम्मेवारी सुशासन कायम गर्ने र निर्वाचन गर्ने हो, म्यान्डेट पनि चुनावकै पाएका छौं,´ गृहमन्त्री अर्यालले भने, `निष्पक्ष, भयरहित र शान्तिपूर्ण चुनाव तोकिएकै समयमा हुन्छ ।´
गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण निर्माण गर्न सरकारका सबै संयन्त्र परिचालन भएको बताए । राजनीतिक दललाई पनि निर्वाध रुपमा चुनावी गतिविधि गर्ने वातावरण बनाउन वर्तमान सरकार सक्रिय भएको मन्त्री अर्यालको दाबी थियो । `यो साझा सरकार हो, हामी कसैलाई पनि विभेद गर्दैनौं,´ अर्यालले भने, `कुनै पनि दलको चुनावी गतिविधिमा अवरोध हुँदैन ।´
गोष्ठीमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले देशलाई ट्र्याकमा ल्याउन निर्वाचनको विकल्प नभएको बताए । `फागुन २१ गतेको निर्वाचन हुनैपर्छ, विकल्प छैन,´ मुख्यमन्त्री शाहले भने, `सबै मिलेर निर्वाचनको वातावरण बनाउनुपर्छ ।´
सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले भयरहित निर्वाचनको वातावरण बन्न नसकेको बताए । `पार्टीका गतिविधिमा अवरोध भइरहेको छ,´ मन्त्री सार्कीले भने, `गृह मन्त्रालयले राजनीति दलहरुसंग सम्बाद गर्न आवश्यक छ ।´
सुरक्षा गोष्ठीमा उद्घाटन सत्र सकिएसंगै बन्द सत्र सुरु भएको छ । दोस्रो सत्रको सुरुवातमा जिल्लागत प्रदेशगत सुरक्षा चुनौतीबारे प्रस्तुतिकरण भइरहेको छ । गृह मन्त्रालयका तर्फबाट सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको प्रस्तुति हुनेछ ।
त्यसपछि सुरक्षा निकायका प्रमुखहरु, प्रदेशका प्रमुख सचिव, आन्तरिक मामिलामन्त्री सार्की, मुख्यमन्त्री शाह र गृहमन्त्री अर्यालको मन्तव्यपछि गृहसचिव दंगालले कार्यक्रम समापन गर्ने कार्यक्रम छ ।
प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौतीहरु, अपराध नियन्त्रण, सीमा सुरक्षाबारे छलफल हुने बताइएको छ । गोष्ठीमा फागुण २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाबारे पनि छलफल हुने छ ।
गोष्ठीमा गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि सहभागी छन् ।
प्रतिक्रिया