धनगढी । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले प्रचार गर्न पाउने अवधि छ दिन मात्रै बाँकी छ । निर्वाचन आयोगले १८ गतेको मध्यरातिदेखि मौन अवधि सुरु हुने जनाएको छ ।
चुनाव प्रचारका छ दिन मात्रै बाँकी रहेको अवस्थामा अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा तीन ठुला दलका कुनै पनि शीर्ष नेताहरु पुग्न सकेका छैनन् । ६ फागुनमा राष्ट्रिय स्वतन्त्र पार्टीले भने कैलालीको धनगढीमा परिवर्तन उद्धोष सभा गरेको थियो । सभालाई पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गरेका थिए । उक्त सभाले सुदूरपश्चिममा रास्वपाको प्रभाव बढाएको दाबी नेताहरुले गर्दै आएका छन् ।
तर, तीन ठुला दलले प्रदेशस्तरको चुनावी कार्यक्रम पनि राख्न सकेका छैनन् । नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड चुनावी प्रचारका लागि सुदूरपश्चिमका कुनै जिल्लामा पुगेका छैनन् । तीन दलका अन्य शीर्ष नेताहरु पनि यहाँका चुनावी कार्यक्रममा देखिएका छैनन् । नेपाली कांग्रेसले बिहीबार धनगढी वा अत्तरियामा प्रदेशस्तरको चुनावी सभा राख्ने तयारी गरेको थियो ।
सभामा सभापति गगन थापा लगायतले सम्बोधन गर्ने तयारी थियो । कार्यक्रमको समन्वयको जिम्मेवारी केन्द्रीय सदस्य निपा चोखाल लगायतका नेतालाई दिइएको थियो । तर, अन्तिम समयमा आएर कांग्रेसको चुनावी सभा स्थगित गरिएको छ । कांग्रेसका केन्द्रीय सदस्य सुनिता रानाले समयको अभाव तथा तयारी अपुग भएका कारण सभा स्थगित गरिएको जानकारी दिइन् । तर, कांग्रेसले सभा स्थगित गर्नुको कारण भने अरु नै रहेको बताइएको छ । कांग्रेसको केन्द्रीय समितिले सभाको सहजीकरणका लागि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र पार्टीका प्रदेश सभापति बीरबहादुर बलायरलाई सम्पर्क गरेको थियो । ‘मुख्यमन्त्रीले आफ्नो सभापति शेरबहादुर देउवा भएको र बलायरले चासो नदेखाएपछि आम सभा गर्न केन्द्र तयार नभएको हो,’ कांग्रेस सुदूरपश्चिमका एक नेताले भने ।
ती नेताका अनुसार कांग्रेसको प्रदेशस्तरीय आम सभा स्थगित हुनुको पछाडि अर्को कारण पनि छ । ‘देउवाको गृहजिल्लामा उनीबीना अहिलेका सभापति थापा मात्रै आए चुनावमा उल्टो असर पर्छ भन्ने यहाँका थुप्रै उम्मेदवारको निचोड भएका कारण पनि सभा स्थगित गरिएको हो,’ ती नेताले भने । यता नेकपा एमालेको पनि प्रदेशस्तरको चुनावी कार्यक्रम गर्ने कुनै योजना छैन । एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले आफ्ना उम्मेदवार घरदैलो कार्यक्रममै व्यस्त रहेको बताउँदै चुनावी सभाको कार्यक्रम नरहेको जानकारी दिए । अध्यक्ष ओली सुदूरपश्चिम आउने कार्यक्रम पनि नरहेको चन्दले बताए ।
नेपाली कम्युनिस्ट पार्टीले पनि प्रचण्ड लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम अहिलेसम्म तय भइनसकेको जनाएको छ । पार्टीका नेता जनक बुढाले शीर्ष नेता प्रदेशका चुनावी प्रचारमा सहभागी हुने कुनै कार्यक्रम तय नभएको बताए । शीर्ष नेता मात्रै नभएर प्रदेशमा प्रभाव राख्नसक्ने नेताहरु पनि आफ्नै निर्वाचन क्षेत्रमा खुम्चिएका छन् । एमालेका उपमहासचिव लेखराज भट्ट कैलाली– ४ बाट उम्मेदवार छन् ।
उनी आफ्नै क्षेत्रका चुनावी कार्यक्रममा मात्रै देखिएका छन् । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल पनि आफू उम्मेदवार रहेको अछाम– १ को प्रचारमा मात्रै सीमित छन् । कांग्रेस नेता एनपी साउद कञ्चनपुर– २ बाट उम्मेदवार छन् । केही दिनअघि उनी पुर्खेउली जिल्ला डडेल्धुराका धार्मिक स्थलमा पुगेका थिए । तर, उनी पनि आफ्नै चुनावी अभियानबाहेक पार्टीका अन्य उम्मेदवारको प्रचारमा देखिएका छैनन् ।
प्रतिक्रिया