धनगढी । ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले सुदूरपश्चिमका १६ मध्ये नौ सिटमा मात्रै उम्मेदवार उठाएको थियो । माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गरेर चुनाव लडेको कांग्रेसले लडेका नौमध्ये आठ सिटमा जित निकाल्न सफल भयो । कांग्रेस उम्मेदवार कैलाली– ४ र ५, कञ्चनपुर– २ र ३, अछाम– २, डडेल्धुरा, दार्चुला र बाजुरामा जित निकाल्न सफल भएका थिए । सुदूरपश्चिममा कांग्रेसबाट उम्मेदवार बनेर पराजित भएका एक मात्र उम्मेदवार थिए, रामजनम चौधरी । उनी कैलाली– १ मा नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ चौधरीसँग पराजित भएका थिए ।
तीन वर्षअघिको निर्वाचनमा नौ क्षेत्रमा चुनाव लडेर आठ सिट जित्दै प्रदेशमा पहिलो दल बनेको कांग्रेसले २१ फागुनको निर्वाचनका लागि १६ वटै क्षेत्रमा उम्मेदवार उतारेको छ । तर, २०७९ सालको निर्वाचन जित्ने आठमध्ये एनपी साउँद र पुष्पबहादुर शाहले मात्रै कांग्रेसबाट टिकट पाएका छन् । अन्य १४ उम्मेदवार नयाँ अनुहार छन् । नयाँ अनुहारबाट कांग्रेसको पोजिसन सुधार होला वा बिग्रेला भन्ने चासो अहिले प्रदेशभर छ ।
आसन्न निर्वाचनमा प्रदेशमा सिट थपिने कांग्रेसको आन्तरिक विश्लेषण छ । यसपटक सबै क्षेत्रमा उम्मेदवार भएका कारण सिट थप हुने दाबी कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका एक नेताले दाबी गरे । ‘हामी कम्तिमा पनि १० सिट जित्छौं,’ उनले भने । ती नेताका अनुसार कैलाली १, ४ र ५, कञ्चनपुर २ र ३, अछाम– १, डडेल्धुरा, बाजुरा, डोटी र बैतडीमा कांग्रेस उम्मेदवारको जित सुनिश्चित छ । यस्तै, कैलाली २ र ३, कञ्चनपुर– १ अछाम– २ तथा बझाङमा पनि चुनावी माहोल राम्रो रहेको कांग्रेसको आन्तरिक विश्लेषण छ ।
‘पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको अनुपस्थितिमा कांग्रेसको पोजिसन बिग्रेला भन्ने थियो,’ कांग्रेस सुदूरपश्चिमका एक नेताले भने, ‘तर, भेट्न गएका नेतालाई देउवाले कांग्रेसका उम्मेदवारलाई जिताउन निर्देशन दिइराख्नु भएको छ । यसले सुदूरपश्चिममा कांग्रेस एक भएको छ ।’
प्रतिक्रिया