ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

क्षतिग्रस्त मुख्यमन्त्री कार्यालयको गृहमन्त्री अर्यालद्वारा निरीक्षण

मङ्गलबार १६, मङि्सर २०८२ ०५:१७

धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनमा क्षतिग्रस्त सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्थलगत निरीक्षण गरेका छन् । 

सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन सोमबार धनगढी पुगेका गृहमन्त्री अर्यालले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरीक्षण गरेका हुन् । सो क्रममा उनले प्रदेशका पूर्वाधार पुनर्निर्माण गर्न संघ सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । 

गृहमन्त्री अर्यालले कार्यालयको भौतिक अवस्था तथा सञ्चालनका चुनौतीबारे जाननकारी पनि लिएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आन्दोलनका क्रममा कार्यालयमा पुगेको क्षति तथा हालको अवस्थाबारे जानकारी गराएका थिए । 

यस्तै, गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रदेश निजामती कर्मचारीले संघ, प्रदेश तथा स्थानीय तहका निजामती कर्मचारीहरूको मर्यादाक्रमबारे ध्यानाकर्षण गराएका छन् । प्रदेशमा कार्यरत उपसचिवहरूले गृहमन्त्री अर्याललाई बुझाएको ध्यानाकर्षण पत्रमा नेपाल सरकारले २०७६ वैशाख १६ मा प्रकाशित गरेको मर्यादाक्रम विभेदकारी, अन्यायपूर्ण र संघीयताको मर्मविपरीत रहेको उल्लेख छ । समान तह र श्रेणीका कर्मचारीहरूको मर्यादाक्रम तीन वटै तहमा एउटै रहनुपर्ने माग उनीहरूले राखेका छन् ।

‘सर्वोच्च अदालतको २०७८ माघ १२ गतेको पूर्ण इजलासको निर्देशनात्मक आदेश अनुसारसमेत समान तहका कर्मचारीलाई समान मर्यादाक्रममा राख्नुपर्ने स्पष्ट व्यवस्था भए पनि व्यवहारमा संघका अधिकारीलाई प्राथमिकतामा दिइनुले कर्मचारीबीच विभेदकारी मानसिकता उत्पन्न भएको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ । 
 

प्रतिक्रिया