ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरकाे सामुदायिक वनबाट १३९ रुख गायब, जनप्रतिनिधिमाथि नै आशंका

बुधबार १७, मङि्सर २०८२ १०:५२

धनगढी । कञ्चनपुरको एक सामुदायिक वनबाट एकैदिन एक सय ३९ रुख कटान गरेर गायब पारिएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वनबाट एक ३९ रुख कटान गर्दै गायब पारिएको हो । डिभिजन वन कार्यालयका अनुसार मंसिर ११ गते दिउँसो एक घण्टाको अवधिमा ती रुख कटान गरेर गायब पारिएको हो ।

डिभिजन वन कार्यालयका प्रमुख सुरेशचन्द्र डिसीका अनुसार सामुदायिक वनमा रहेका ११६ वटा खैर, २२ वटा सिसम र एक कन्जु गरी १३९ रुख काटिएको छ । ‘सामुदायिक वन नै रित्तो हुने गरी रुख कटान गरेर काठ गायब पारिएको छ,’ डिभिजन प्रमुख डिसीले भने, ‘हाल वन क्षेत्रमा मुढा मात्रै छोडिएको छ । केही जिम्मेवार व्यक्तिकै निर्देशनमा ६०–७० जना स्थानीयहरूको समूहले एक घण्टाको अवधिमा ती रुख काटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

उक्त क्षेत्रमा कोरियाली संस्थाको सहयोगमा प्राविधिक शिक्षालय स्थापनाको तयारीमा कृष्णपुर नगरपालिका छ । ‘शिक्षलय स्थापनाका लागि रुख कटान गर्नुपर्ने भएपछि जनप्रतिनिधिको निर्देशनमा रुखहरू काटेको बुझ्नमा आएको छ,’ डिसीले भने, ‘रुख कटानको अनुमतिका लागि प्रक्रिया लामो भएकाले स्थानीय बासिन्दालाई अगाडि सारेर रुख काटिएको हुनसक्छ ।’

एकैपटक ठुलो संख्यामा अवैध रुपमा रुख कटान भएपछि सव डिभिजन वन कार्यालय वाणीका प्रमुख भरत शाहको नेतृत्वमा छानविन थालिएको डिभिजन वन प्रमुख डिसीले बताए । सामुदायिक वनमा अवैध रुपमा रुख काटेको विषयमा कृष्णपुर नगरपालिकाका जनप्रतिनिधसंग सोधपुछ भइसकेको डिसीले बताए । नगर प्रमुख हेमराज ओझा र वडा नम्बर ७ का अध्यक्ष घुम्मन रानासंग सोधपुछ गरिएको छ । सामुदायिक वनका पदाधिकारीलाई पनि सोधपुछका लागि बोलाइएको डिसीले बताए । 

प्राविधिक शिक्षलय स्थापनाका लागि कष्णपुरका जनप्रतिनिधिले नै रुख काट्न निर्देशन दिएको आरोप लागेको छ । तर, कृष्णपुरका मेयर हेमराज ओझाले रुख काट्न आफुले कसैलाई पनि निर्देशन नदिएको बताए । ‘सामुदायिक वन भए पनि उक्त क्षेत्रमा संरक्षणका कुनै गतिविधि थिएनन्, न चौकीदार नै थियो,’ मेयर ओझाले भने, ‘त्यहाँ प्राविधिक शिक्षलय स्थापना हुने भएपछि त्यस क्षेत्रको रुख काम लाग्दैन भनेर स्थानीय बासिन्दाले काटेको हुनसक्छ ।’

मेयर ओझाले एकैदिन १३९ रुख काटिएको कुरा भने सत्य नभएको बताए । ‘हामीले बुझ्दा विगतदेखि नै विवाह, ब्रतबन्ध लगायतका कार्यका लागि स्थानीयले सो क्षेत्रबाट रुख काट्दै आएका रहेछन्,’ ओझाले भने, ‘त्यो सबै संख्या जोडेर १३९ पुगेको होला । तर, एकैदिनर १३९ रुख काटिएको होइन भन्ने हामीले बुझेका छौं ।’ 
 

प्रतिक्रिया