धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा २ मा विजयी भएका चौधरी सोमबार रास्वपामा प्रवेश गरेका हुन् । नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट–थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी भएको समायोजन सभामा चौधरी पनि सहभागी छन् ।
०७९ सालको प्रदेशसभा निर्वाचनमा विजयी भएका चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री पनि बनिसकेका छन् । यस्तै, तत्कालीन नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित पनि रास्वपा प्रवेश गरेका छन् ।
सोही पार्टी नेताहरु राजेश अधिकारी, कोमल ज्ञवाली, ठाकुरसिंह थारु, थरुहट नेता लक्ष्मण थारु, तुलसी चौधरी, सुरेन्द्र चौधरी पनि रास्वपामा प्रवेश गरेका छन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले केही समयअघि नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरेकी थिइन् । पार्टीभित्र कुनै सल्लाह नगरी एकता गरेको भन्दै सुदूरपश्चिमका नेताहरु असन्तुष्ट छन् । सुदूरपश्चिम प्रदेशसभामा मात्रै नाउपाका सात जना सांसद थिए ।
प्रतिक्रिया