ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका उम्मेदवारको घोषणापत्रमा वर्षौंदेखि अलपत्र योजना

शुक्रबार ०८, फागुन २०८२ ०४:०३

धनगढी । सुदूरपश्चिममा निर्वाचनका लागि दुई सय १० जना चुनावी प्रतिस्पर्धामा छन् । काङ्ग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रदेशका १६ वटै क्षेत्रमा उम्मेदवार उठाएका छ । अन्य केही दल र स्वतन्त्र उम्मेदवार छन् ।

चुनावी मैदानमा रहेका धेरै जसो उम्मेदवार पहिलोपटक प्रतिनिधिसभा निर्वाचन लडिरहेका छन् । अहिले उम्मेदवारहरु आफ्ना चुनावी एजेन्डा लगेर मतदातामाझ पुगिरहेका छन् । ६ गतेदेखि चुनावी आमसभा पनि गरिरहेका छन् दलहरुले । उम्मेदवारहरूले चुनावी घोषणापत्रमार्फत पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा र रोजगारीका एजेन्डाहरू सार्वजनिक गरेका छन् ।

आफ्नो चुनावी क्षेत्रबाहेक प्रादेशिक विकासका एजेन्डा पनि उम्मेदवारहरुको प्राथमिकतामा छन् । सबैभन्दा बढी उम्मेदवारले धनगढीमा फाप्ला क्रिकेट रङ्गशाला निर्माण, धनगढी विमानस्थल स्तरोन्नति, सेती लोकमार्ग, महाकाली करिडोर र धनगढी- दीपायल द्रुत मार्ग निर्माणको योजना उम्मेदवारको घोषणापत्रमा अटाएका छन् । यस्तै सेती प्रादेशिक अस्पतालको स्तरोन्नति र शहीद दशरथ चन्द विश्वविद्यालय सुचारु पनि एजेन्डामा अटाएको छ । यी सबै योजना ०६४ सालको चुनावदेखि नै चुनावी एजेन्डा बन्दै आएका छन् ।

सुदूरपश्चिमको राजधानी तथा मुख्य व्यापारिक केन्द्र धनगढी समेटिएको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवारहरु प्रादेशिक विकासका योजना समेट्नेमा अगाडि छन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका नरनारायण शाह (मनु) ले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पूर्णता, सेती अस्पतालको स्तरोन्नति, धनगढीलाई महानगर बनाउने योजना आफ्नो एजेन्डा भएको बताएका छन् ।  एमाले उम्मेदवार यज्ञराज ढुंगाना, नेपाली कम्युनिस्ट पार्टीकाबाट उम्मेदवार प्रेमबहादुर आले र रास्वपा उम्मेदवार आनन्द चन्दका पनि यिनै एजेन्डा छन् ।

प्रदेशको पहाडी जिल्ला डोटीबाट पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट नेकपाबाट चुनावी मैदानमा छन् । प्रदेश सरकारको नेतृत्व सम्हाल्दा गरेका निर्णयहरूलाई आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गर्दै उनले निर्वाचित भएपछि चीन–नेपाल–भारत त्रिदेशीय फास्ट ट्र्याकलाई प्रभावकारी रूपमा अघि बढाउने एजेन्डा अघि सारेका छन् । उक्त एजेन्डा काङ्ग्रेस उम्मेदवार भरत खड्काको पनि छ ।

प्रतिक्रिया