ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

माघीको तयारीले थारू बस्तीमा उल्लास

शनिबार २६, पुष २०८२ ०९:०९

धनगढी । पुस महिनाको कठ्यांरिदो चिसोलाई छिचाल्दै यति बेला कैलालीका थारू गाउँमा माघीको तयारी भइरहेको छ । नयाँ वर्षको रुपमा मनाइने माघीका लागि जिता (सुंगुर काट्ने), मघौटा नाच, खानपानका परिकारका लागि थारू समुदाय तयारीमा जुटेको हो ।

माघ १ गतेबाट थारू सम्बत् २६५० सुरु हुँदैछ । पुसको अन्तिम दिन थारू गाउँमा जिता मारेर (सुंगुर काटेर) पुरानो वर्षको बिदाई गर्न गाउँगाउँमा कसको सुंगुर काट्ने र कुन–कुन परिवारले कति पसेरी (अढाई किलो) खाने भन्ने छलफल र सूचि तयार हुन थालेको छ ।

यससंगै ढिकरीका लागि चामल पिसाउने, सालको पात टिपेर दुना टपरी गाँस्ने, माघीमा नाच गर्न समूह बनाउने लगायतका कार्यले थारु गाउँमा उल्लास थपेको छ । यही बेला कामकाजका लागि विदेशिएका युवाहरु पनि घर फर्किन थालेका छन् ।

माघ १ गते बिहान अँध्यारैमा नदी, कुण्ड, ताल वा पोखरीमा स्नान गरी कुलदेवताको पुजा र चामल, दाल, नुन ५/५ वा ७/७ अञ्जुली छुट्याउने गरिन्छ । यसरी छुट्याएको अन्न आफ्नी विवाहित दिदी बहिनीलाई उपहार दिइन्छ । यस उपहारलाई निश्राउ भन्ने गरिन्छ ।

यसपछि ठूलाबडाको आशिर्वाद लिने चलन छ । बिहान उज्यालो भएदेखि घरघरमा गएर ठूलाबाट आशिर्वाद लिने गरिन्छ । बिहानैदेखि हिजो काटेको बंगुरको मासु, ढिक्री, नयाँ आलुको अचार, उसिनेको सकर खण्ड र तरुलको परिकार खाइन्छ । पछिल्ला दिनहरुमा परिकार विभिन्न अन्य परिकारहरु पनि बनाउने चलन थपिएको छ । दिनभरि आशीर्वाद लिइसकेपछि साँझबाट मघौटा नाच शुरु हुन्छ । नाच दुई/तीन दिनसम्म निरन्तर चलिरहन्छ ।

माघको दोस्रो दिनबाट गाउँ गाउँमा माघी दिवानी सुरु हुन्छ । कतैकतै यसलाई खोज्नीबोज्नी वा भुराखेली पनि भन्ने गरिन्छ । माघी दिवानीमा खास गरेर गाउँको भल्मन्सा÷बडघर चयन गर्ने परम्परा रहेको भादा गाउँका भल्मन्सा सन्तराम चौधरीले बताए । गाउँ गाउँमा भल्मन्सा/बडघर चयन गर्ने माघी दिवानी दुई हप्तासम्म निरन्तर चलिरहन्छ ।

यसरी मनाइने माघीको लागि धान कुटाउने, ढिक्री बनाउने पिठोका लागि चामल पिसाउने, बंगुर खाने परिवारको सूचि तयार गर्ने, पात टिपेर दुना टपरी गाँस्ने, नाचका लागि मादल र टीम तयार गर्ने लगायतका तयारी भइरहेको भल्मन्सा चौधरीले बताए ।

पछिल्ला वर्षहरुमा माघी मनाउन मेला महोत्सव आयोजना गर्ने चलन पनि बढेको छ । ति मेला महोत्सवको आयोजनाको तयारी, नृत्य प्रदर्शनीको तयारी समेत भइरहेका छन् । धनगढी–६, जाली गाउँमा यसपाली पनि माघी महोत्सव आयोजना गर्ने तयारी भइरहेको छ ।

गोदावरी–८ जोनापुरकी भल्मन्सा सीता चौधरीले नगरस्तरीय भल्मन्सा समितिले नगरस्तरीय माघी मेला तथा माघी मिलन कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको बताइन् । कैलालीको बेहडा बाबा, गोदावरी धाम, वनदेवी, बुट्का बाबा, लगायतका ठाउँमा माघी मेला लाग्ने गरेको छ ।

घरघर गएर नाचिने मघौटामा सहभागीलाई घरबेटीले आफूले सक्दो पैसा र चामल, फुल दिएर विदाई गर्ने चलन रहेको धनगढी १६ भादाका भल्मसा सन्तराम चौधरीले बताए । नाच्ने कलकारले दरीमा फिजाएको पैसा उत्तानो पल्टेर मुखले टिप्ने गर्छन् । यसरी पैसा टिप्न खास कला चाहिन्छ ।

माघी देवानीले अघिल्लो वर्षको समिक्षासंगै आगामी वर्ष योजना तर्जुमा र नेतृत्व चयन गर्ने गरेको भल्मन्सा वड्घर समितिका कैलाली जिल्ला अध्यक्ष विलारु चौधरीले बताए । गाउँको भल्मन्सा भल्मन्सा÷बड्घर, चिराकी÷चौकीदार, गुरुवा÷केसौकाको कार्यकाल र गाउँ विकासको समिक्षा गर्ने गरिएको उनले बताए । पुरानैलाई निरन्तर जिम्मेवारी दिने वा नयाँ चुन्ने विषयको निष्कर्ष पनि यसै माघी देवानीमा हुन्छ । भादामा एक वर्ष परिक्षणकाल दिने र राम्रो काम गरेको भए अर्को माघी देवानीबाट दुई वर्ष थप गर्ने चलन रहेको भल्मन्सा चौधरीले बताए । भल्मन्साको कार्यकाल गाउँ गाउँको नियम अनुसार फरक फरक रहने गरेको अध्यक्ष चौधरीले बताए ।

पहिले पहिले थारुहरुको घरभित्र पनि माघी देवानी बस्ने र छोराछोरीको विवाह गर्ने, आउने वर्ष कुन खेत कसले जोत्ने र त्यस खेतमा कुन बाली लगाउने वा कुन व्यवसाय गर्ने भनि छलफल हुने गरेको थियो । यसमा घरमुलीले हरेकको विचार बुझ्ने र चित्त नबुभले भाइभाइ घर फुट्ने चलन पनि थियो । तर पछिल्लो घरभित्रको माघी देवानी गर्ने चलन हराएर गएको छ ।

गाउँको किसानहरुको बैठक माघको पहिलो सातामा मात्रै नभएर आवश्यकता अनुसार अरु समयमा पनि बस्ने गरेको छ । अरु समयमा बस्ने बैठकलाई थारु गाउँमा खेल भन्ने गरिन्छ । जसले तत्कालको लागि योजना बनाउछ र कार्यान्वयन गर्ने गरेको अध्यक्ष चौधरीले बताए ।

प्रतिक्रिया