ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

देउवाको गृहप्रदेशमा शेखरका तीन दिन, भए महाधिवेशनकेन्द्रित

सोमबार ०९, पुष २०८१ ०८:००

धनगढी । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला तीन दिने सुदूरपश्चिम भ्रमण सकेर काठमाडौं फर्केका छन् । शुक्रबार कैलालीको धनगढी पुगेका कोइराला आइतबार काठमाडौं फर्केका हुन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवको गृहप्रदेशमा उनले तीन दिन महाधिवेशनकेन्द्रित छलफल गरेर बिताएका छन् ।

१५औं महाधिवेशनमा सभापति पदको उम्मेदवार हुने जानकारी दिँदै उनले नेता–कार्यकर्तालाई सहयोग गर्न आग्रह गरेका छन् । शुक्रबार मध्यान्न धनगढी विमानस्थल पुगेका कोइरालालाई स्वागत गरिएको थियो । देउवाको गृहप्रदेशमा कोइरालाको स्वागतका लागि सुदूरपश्चिमका नौं जिल्लाबाटै काँग्रेसका नेता–कार्यकर्ता पुगेका थिए ।

‘विगतमा शेखर कोइराला धनगढी पुग्दा मुस्किलले २०/२५ जना धनगढी विमानस्थलमा जुट्थे,’ नेपाली काँग्रेस कैलालीका पूर्वसचिव पूर्णबहादुर कुँवरले भन्छन्, ‘२०÷२५ जनालाई पनि फोन गरेरै बोलाउनुपर्ने हुन्थ्यो । यसपटक भने माहोल छुट्टै देखियो । शेरबहादुर दाई आउँदा जस्तो हुन्थ्यो शेखर दाई आउँदा पनि त्यस्तै देखियो ।’ मध्यान्न १२ बजे विमानस्थल पुगेका कोइरालाले त्यहाँ सञ्चारकर्मीसंग सक्षिप्त कुराकानी गर्दै पार्टी सभापति शेरबहादुर देउवासँग कुनै किसिमको असमझदारी नरहेको स्पष्ट पार्न खोजेका थिए ।

‘सभापति सबैको साझा व्यक्ति हुनुहुन्छ,’ उनले भनेका थिए, ’उहाँसँग मेरो कुनै किसिमको असमझदारी छैन । बाहिर आउने कुरामा सत्यता छैन । पार्टी महामन्त्री गगन थापासँग पनि कुनै विवाद छैन ।’ शेखरको स्वागतका लागि विमानस्थलमै पुगेका थिए, डडेल्धुरामा काँग्रेस बीपीको राजनीति गर्दै आएका युवराज पाण्डे ।

उनकै टिमले कोइरालालाई १५औँ महाधिवेशनमा सभापति पदका लागि अग्रिम शुभकामना स्वरुप १५ किलोको माला लगाइदियो । पाण्डे नेपाली काँग्रेस डडेल्धुराका पूर्वसभापति तथा बीपी काँग्रेसका वर्तमान उपसभापति कर्ण मल्लका समर्थक हुन् । विमानस्थलमा १५ किलोको माला थापेका कोइराला सोही दिन सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीमा दिनभर नेता–कार्यकर्तासंग छलफलमा व्यस्त थिए ।

उनले प्रदेशका नौ वटै जिल्लाका आफू पक्षधर नेताहरूसँग छलफल तथा भेटघाट गरे । ‘कोइरालाले नौं वटै जिल्लाका नेता–कार्यकर्तासंग छुट्टाछुट्टै रुपमा छलफल गरेका थिए,’ नेपाली काँग्रेस कैलालीका पूर्वसचिव कुँवरले भने, ‘जिल्लाको टिमसंग भेट्न नचाहनेहरुले बेग्लै पनि नेता कोइरालासंग भेट गरेका छन् । सो क्रममा कार्यकर्ताहरुले काँग्रेस रुपान्तरण हुन आवश्यक रहेको र त्यसको सुरुवात १५औं महाधिवेशनबाट हुनुपर्ने प्रतिक्रिया जनाएका छन् ।’

कुँवरका अनुसार कार्यकर्ता भेटघाटका क्रममा कोइरालाले आफू १५औं महाधिवेशनमा सभापति पदको उम्मेदवार हुने जानकारी दिँदै सहयोग गर्न आग्रह गरेका थिए । ‘काँग्रेसलाई एक ढिक्का बनाउने कार्यको सुरुवात सुदूरपश्चिमबाट हुन आवश्यक छ,’ कोइरालाले कार्यकर्तालाई भनेका थिए, ‘मैले सभापति भएपछि कसैलाई अन्याय हुँदैन । पार्टीलाई युग सुहाउँदो बनाउने छु । तपाईँहरु सबैको सहयोगको आवश्यकता छ ।’

शुक्रबार दिनभर भेटघाटमा व्यस्त भएका कोइरालाले शनिबार भने नेपाल प्रजातन्त्र सेनानी संघ सुदूरपश्चिम प्रदेशको अधिवेशनमा पुगे । उनी सुदूरपश्चिममा आयोजित प्रादेशिक कार्यक्रममा पहिलोपटक प्रमुख अतिथि बनेका थिए । कोइराला आइतबार बिहान फेरि कार्यकर्ता भेटघाटमा जुटेका थिए । उनले नेपाली काँग्रेसको भातृ तथा शुभेच्छुक संस्थासँग पनि अन्तरक्रिया तथा छलफल पनि गरेका छन् । यस्तै, आइतबार बिहान कोइराला नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भए ।

त्यहाँ पनि उनले पार्टी सभापति देउवा आफ्नो पनि आदरणीय नेता भएको भन्दै कुनै असमझदारी नभएको दोह¥याए । ’उहाँ (देउवा) सुदूरपश्चिमको मात्रै होइन, हामी सबैको आदरणीय नेता हुनुहुन्छ,’ कोइरालाले भने । कोइरालाले सभापतिमा चुनाव लड्ने र जित्नेमा विश्वस्त रहेको पनि दाबी गरे । सभापति जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ भन्ने भन्ने प्रश्नमा उनले भने, ‘शतप्रतिशत विश्वस्त छु ।’

प्रतिक्रिया