धनगढी । २०७९ चुनाव स्थानीय तह निर्वाचन, प्रदेश सभा र प्रनिनिधि सभाको निर्वाचनमा क्षेत्रीय शक्तिको रुपमा उदाएको नागरिक उन्मुक्ति पार्टी तीन वर्षमा चार टुक्रा भएको छ ।
यसवर्ष भइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनसम्म आइपुग्दा उक्त पार्टीको सर्वोच्च नेतृत्वमा रहेका श्रीमान-श्रीमती रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठ फरक फरक पार्टीमा छन् भने केही नेता कार्यकर्ताहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र केही उज्यालो नेपाल पार्टी (उनेपा) मा पुगेका छन् । श्रीमान-श्रीमतीको शक्ति संघर्ष र एकअर्काको अस्तित्व स्वीकार नगर्ने प्रवृत्तिका कारण नागरिक उन्मुक्ति पार्टी तीन टुक्रा भएर फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी भएको छ ।
केही नेता कार्यकर्तालाई लिएर उक्त पार्टीको संरक्षक रहेका रेशमलाल नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरी चुनावी मैदानमा छन् भने उनकी श्रीमती रञ्जिताले नेपाली कम्प्युनिष्ट पार्टी (नेकपा) संग पार्टी एकीकरण गरी उम्मेदवार खडा गरेकी छन् ।
नागरिक उन्मुक्ति पार्टीको आधार क्षेत्र मानिएको कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा रेशमलालसंग उनैको पार्टीबाट नेकपामा गएका रामलाल डगौराथारु, रास्वपामा गएकी कोमल ज्ञवाली र उनेपा पुगेका प्रदिप चौधरी प्रतिस्पिर्धामा उत्रेका छन् । यि चारै नेता एकजुट भएर २०७९ मा रञ्जितालाई उक्त निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्य र अहिलेका प्रतिस्पर्धी रामलाललाई टीकापुर नगरपालिकाको नगरप्रमुखमा जित दिलाएका थिए ।
कैलाली क्षेत्र नं. १ मा नाउपाका यि चारै पूर्व नेतासंगै नेपाली कांग्रेसका जनकराज चौधरी पनि प्रतिस्पर्धामा छन् । यसले उक्त क्षेत्रको चुनावी प्रतिस्पर्धा अझै रोचक बनाउने अनुमान गरिएको छ ।
नेकपा एमालेबाट भने द्वारिका प्रसाद न्यौपाने उम्मेदवारी दिएका छन् ।
नागरिक उन्मुक्तिबाट निर्वाचित कैलालीका चार पालिका प्रमुखमध्ये रञ्जितासंगै नेकपामा गएर प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएन भने तीन पालिका प्रमुख खुलेका छैनन् । सुदूरपश्चिम प्रदेश सभामा नाउपाबाट सात जना सांसद् पनि रञ्जितासंगै नेकपामा छन् । कानुनीरुपमा पार्टी त्याग गरे पद जाने भएकाले उनीहरुले रञ्जिताको नजिक देखिएपनि रेशम नजिकमा पाँच जना प्रदेश सांसद् छन् । प्रदेश सांसद लक्ष्मणकिशोर चौधरी काठमाडौँमा रास्वपाको पार्टी प्रवेश गर्नै लाग्दा पद जाने भएपछि पार्टीमा फर्किएका थिए ।
पार्टी गठन हुँदाका २१ जना केन्द्रीय सदस्यमध्ये पछि केही निश्क्रिय थिए । उक्त पार्टीका बरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, केन्द्रीय सदस्य ठाकुरसिंह थारु, सुरेन्द्र चाैधरी, कोमल ज्ञवाली, लक्ष्मण थारु लगायतका नेता रास्वपा प्रवेश गरेका छन् । संस्थापक केन्द्रीय सदस्य आलोक चौधरी र आशिन चौधरी रेशमको पार्टीमा लागेका छन् । ‘पार्टीका नेताहरु तिनतिर लागे । तल्ला तहका नेताकार्यकर्ता र समर्थकमा अलमल हुनु स्वाभाविक हो’ नागरिक उन्मुक्ति कैलालीका एक नेताले भने, ‘पार्टीले उठाएको थारुलगायत समुदायको मुद्दा छोड्यो । श्रीमान-श्रीमतीबिचकै झगडाले पार्टी छिन्नभिन्न अवस्थामा पुग्यो ।’
संविधान जारी हुनुअघि थरुहट प्रदेशको माग गर्दै नौ जनाको ज्यान जाने गरी टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भएका रेशमले जेलमै रहेका बेला रञ्जिताको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । गत निर्वाचनमा कैलाली १ बाट रञ्जितासहित संघमा तीन क्षेत्र, प्रदेशमा छ जना प्रत्यक्ष र एक सांसद समुपातिकतर्फ निर्वाचित भएका थिए । नागरिक उन्मुक्तिका प्रदेश र संघमा गरी १६ प्रतिनिधि थिए ।
प्रतिक्रिया