ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

निर्वाचनमा अशान्त हुने बझाङ–बाजुरामा यसपटक कस्तो छ सुरक्षा व्यवस्था ?

आइतबार १०, फागुन २०८२ ११:३२

धनगढी । बाजुरा र बझाङमा भएका अधिकांश निर्वाचनमा बुथ कब्जा, फर्जी मत, झडप र धाँधलीका घटना दोहोरिँदै आएका छन् । एक–एक निर्वाचन क्षेत्र रहेको दुबै जिल्लामा शान्तिपूर्ण रुपमा मतदान गर्न नपाएको गुनासो मतदाताको हुन्छ । 

बाजुरामा ०४८ यताका हरेक निर्वाचनमा घटना हुँदै आएका छन् । ०७९ को प्रतिनिधिसभा निर्वाचनका क्रममा बाजुरामा दुई युवाको मृत्यु भएको थियो । झडप, मतदानस्थल तोडफोड, ढुंगामुढा प्रहार, मतदाता लखेटिएका, सुरक्षाकर्मीद्वारा दर्जनौं मतदानस्थलमा दिनभर हवाई फायर लगायतका घटना भएर मतदानका क्रममा बाजुरा दिनभर अशान्त र तनावग्रस्त भएको थियो । त्यसक्रममा २४ मतदान केन्द्र कब्जा भएको प्रमुख दलहरूकै दाबी थियो ।

मतदानको दिन प्रहरीको गोली लागेर त्रिवेणी नगरपालिका–६ का कांग्रेस समर्थित युवा सञ्जीव अयडीको मृत्यु भएको थियो । त्यसै राति सोही नगरपालिका–७ का एमाले समर्थित अनेरास्ववियुका केन्द्रीय सदस्यसमेत रहेका चेतन अयडीलाई स्थानीयले कुटपिट गरी हत्या गरेका थिए । मतगणना सुरु हुन १४ दिन लागेको थियो । ०७९ को स्थानीय निर्वाचनका क्रममा पनि बाजुराका विभिन्न मतदान केन्द्र तनावग्रस्त भएका थिए । बुढीगंगा नगरपालिकाका अधिकांश मतदान केन्द्रमा धाँधली भएपछि पुनः मतदान गराइएको थियो ।

बाजुरा र बझाङको अर्को समस्या फर्जी मत खसाल्ने प्रवृत्ति पनि स्वतन्त्र निर्वाचनका लागि बाधक रहँदै आएको छ । ०७४ को स्थानीय निर्वाचनमा बाजुरा सबैभन्दा बढी मत खसेको जिल्ला हो । बुढीगंगा नगरपालिकाका केही मतदान केन्द्रमा ९९ प्रतिशतभन्दा बढी मतदान भएको थियो । 
०७४ कै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि बाजुरामा ८० प्रतिशत मतदान भएको थियो । ०७९ को निर्वाचनमा सुर्मा गाउँपालिकाका १ र २ का दुई वटा मतदानस्थलमा बुथ कब्जा गरेर फर्जी मत खसाल्न खोजेपछि मतदान नै स्थगित भएको थियो ।
 
बझाङमा ०७९ कै स्थानीय तहको निर्वाचनमा जयपृथ्वी नगरपालिका–६ को सुनिपीपलचौर माध्यमिक विद्यालय सुवेडामा फर्जी मत खसाल्न थालेपछि अर्को पक्षले मतपेटिका तोडफोड गर्दा पुनः मतदान गर्नुपरेको थियो । स्थानीयका अनुसार कतिपय मतदान केन्द्रमा खटिएका कर्मचारी तथा प्रहरी सुरक्षाकर्मीसमेत स्वतन्त्र मतदान प्रभावित गर्न मिलेमतोमा लाग्ने गरेका छन् । ०७९ कै निर्वाचनमा केदारस्युँ गाउँपालिका–२ को मतदान केन्द्रमा पनि फर्जी मत खसेको थियो । 

आसन्न निर्वाचनका लागि सुरक्षा निकायले उच्च सुरक्षा सतर्कताको योजना बनाएको दाबी गरेको छ । सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाले बाजुरा र बझाङलाई उच्च सुरक्षा सतर्कताको सूचीमा राखेको बताए । ‘सुरक्षाकर्मीको संख्या बढाउने, मतदानस्थललाई सीसीटीभीको निगरानी गर्नेदेखि ड्रोन क्यामरा प्रयोग गर्नेसम्म छलफल गरिरहेका छौं,’ उनले भने, ‘स–साना व्यवस्थापनका कुरा पनि केलाइरहेका छौं, आफैंले मतदान गर्न नसकेर अर्कोमार्फत मतदान गर्नुपर्ने अशक्त मतदाताहरूको पनि अग्रिम पहिचान गर्ने तयारी गरिरहेका छौं ।’

सशस्त्र प्रहरी सुदूरपश्चिमका निमित्त वाहिनीपति दिग्विजय सुवेदीले बाजुरा र बझाङमा दोब्बर संख्यामा पेट्रोलिङ परिचालन गर्ने व्यवस्थापन गरिएको बताए । यस्तै, मतदानस्थलमा ड्रोन क्यामरा प्रयोग गर्नेबारे पनि छलफल भइरहेको छ । मदान केन्द्रमा सीसी क्यामरा जडान पनि थालिएको छ ।

बाजुरामा कुल ७७ मतदानस्थलमध्ये ६२ अति संवदेनशील, १२ संवेदनशील सूचीमा राखिएको छ भने तीन वटालाई मात्र सामान्यमा राखिएको छ । बझाङमा विगतका निर्वाचनका क्रममा भएका घटना र गतिविधिका आधारमा जिल्ला सुरक्षा समिति बझाङले सुरक्षा योजना तयार गरेको जनाएको छ । बझाङमा कुल एक सय ३७ मतदानस्थलमध्ये ८५ वटा अतिसंवेदनशील र ४९ वटा संवेदनशीलको सूचीमा राखिएको छ । बझाङमा पनि सुरक्षाका दृष्टिले सामान्य मतदानस्थल भने तीन वटा मात्रै रहेका छन् । 

आसन्न निर्वाचनको प्रतिस्पर्धामा बाजुरामा आठ जना उम्मेदवार छन् । कांग्रेसबाट जनकराज गिरी, एमालेबाट लालबहादुर थापा, नेकपाबाट प्रकाश शाह, रास्वपाबाट हेमराज थापाबीच मुख्य प्रतिस्पर्धा छ । बझाङमा एमालेका ऐन महर, कांग्रेसका प्रकाश रसाइली स्नेही, नेकपाका मीनबहादुर कुँवर र रास्वपाबाट शैलेशकुमार सिंहबीच मुख्य प्रतिस्पर्धा रहेको छ । 
 

प्रतिक्रिया