धनगढी । प्रतिनिधिसभा निर्वाचन आउन अब आठ दिन मात्रै बाकी छ । २१ फागुनमा हुने निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा पनि तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचनको तयारी ९५ प्रतिशत पूरा भएको छ ।
प्रदेशका १६ निर्वाचन क्षेत्रमा आवश्यक निर्वाचन सामग्री पुगाइएको छ । कर्मचारी व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा करिब १५ हजार कर्मचारी खटिने भएका छन् । मतदानमा खटिने कर्मचारीहरूलाई आवश्यक तालिम प्रदान गरिसकिएको छ भने फागुन १७ गतेभित्र सबै कर्मचारी निर्वाचन सामग्रीसहित सम्बन्धित मतदान केन्द्रमा पुग्ने कार्यक्रम तय गरिएको छ ।
प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टले निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र नागरिक सबै जिम्मेवार हुनुपर्ने बताए । प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार फागुन ३ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । प्रदेशका ७३४ वडामै मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको प्रदेश निर्वाचन अधिकारी भट्टले जानकारी दिए ।
यो पटकको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा कुल १७ लाख १६ हजार ६६० जना मतदाता रहेका छन् । प्रदेशभर एक हजार १७६ मतदान स्थलमा दुई हजार १९९ मतदान केन्द्र कायम गरिएको छ ।
सुरक्षा व्यवस्था मजबुत बनाइँदै
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदानको आठ दिन मात्रै बाँकी रहेको अवस्थामा प्रदेशका नौ वटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको हो । प्रदेश प्रहरी कार्यालयले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला–जिल्लामा थप प्रहरी परिचालन गरिएको जनाएको छ ।
निर्वाचन सुरक्षार्थ जिल्ला प्रहरी कार्यालयहरूमा थप मदत पठाउने क्रममा जारी रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर बिष्टले जानकारी दिए । ‘सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीबाट जिल्ला प्रहरी कार्यालय बैतडी, डडेल्धुरा र डोटीका लागि तीन सय ६० जनाको प्रहरी टोली खटिएको छ,’ उनले भने, ‘निर्वाचन सुरक्षार्थ जिल्ला प्रहरी कार्यालयहरूमा थप मदत खटाउने क्रम जारी रहेको छ ।’
यस्तै, नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर कञ्चनपुरबाट जिल्ला प्रहरी कार्यालय बझाङका लागि दुई सय २१ जनाको प्रहरी टोली खटिएको छ । प्रदेश प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीबाट जिल्ला प्रहरी कार्यालय बझाङका लागि प्रहरी निरीक्षकसहित ३० जनाको टोली खटिएको छ ।
गणबाटै एक सय ५५ जना प्रहरीको टोली अछाम जिल्लामा परिचालन गरिएको छ भने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट ४० जना प्रहरीको टोली कैलाली र कञ्चनपुर जिल्लामा परिचालन गरिएको छ । निर्वाचनको समयमा सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै लगिएको प्रदेश प्रहरीले जनाएको छ ।
प्रतिक्रिया