ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

संविधान संशोधनको पक्षमा सबैभन्दा बढी माओवादी छ : पोखरेल

शुक्रबार १२, पुष २०८१ ११:२७

धनगढी । नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणी पोखरेलले संविधान संशोधनको पक्षमा सबैभन्दा बढी माओवादी रहेको बताएका छन् । कञ्चनपुरको पुनर्वासमा आयोजित पत्रकार सम्मेलनमा उनले संशोधनका नाममा संविधानका उपलब्धी कमजोर पार्ने कार्य भने स्वीकार्य नहुने बताए ।

माओवादीले संविधान संशोधनमार्फत शासकीय स्वरुप र निर्वाचन प्रणाली बदल्न चाहेको उनले बताए । संविधान निर्माणका क्रममै माओवादीले यी विषयमा आफ्ना असहमति राखेर अगाडि बढेको स्मरण उनले गरे ।     

‘कोही संविधान संशोधनको पक्षमा छ भने सबैभन्दा बढी हाम्रो पार्टी छ । हामी शासकीय स्वरुपको यो मोडेल बदल्न चाहन्छौँ । हामी निर्वाचन प्रणाली बदल्न चाहन्छौँ’ माओवादी सुदूरपश्चिम इन्चार्जसमेत रहेका पोखरेलले भने, ‘तर २०७२ को संविधानका उपलब्धीलाई कमजोर पार्ने गरी पछाडि फर्काउने कुनै पनि कुरा हाम्रो लागि स्वीकार्य छैन ।’

माओवादीले यी विषयलाई जनतासमक्ष लैजाने तयारी गरेको उनले बताए । पोखरेलले संविधान संशोधनबारे सरकारले भने प्रतिपक्षसँग कुनै छलफल नगरेको बताए । माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने भन्दै आएको छ । 

पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले खोलेका भ्रष्टारका फाइलहरु अहिलेको सरकारले थन्क्याएर राखेको उनले बताए । ‘अघिल्लो सरकारमा भ्रष्टाचारविरुद्ध एकपछि अर्को फाइल खोलिएका थिए’ पोखरेले भने, ‘अहिले कुन कुनामा ती अड्किएका छन् । यहाँहरुलाई थाहै छ ।’

भ्रष्टाचार र बेथितीविरुद्ध माओवादीले यही १३ पुसमा कञ्चनपुरको पुनर्वासमा खबरदारी सभा गर्न लागेको जानकारी उनले दिए । खबरदारी सभालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् । काठमाडौँबाट सुरु भएको खबरदारीलाई तलसम्मै लैजान लागिएको पोखरलेले बताए ।

‘हाम्रो पार्टीका अध्यक्ष प्रचण्डले सुशासन, समृद्धि र सामाजिक न्यायसहित १८ महिनाको नेतृत्व गर्नुभयो’ उनले भने, ‘अर्को सरकार आएपछि मुलुकलाई जुन दिशामा लैजान खोजिएको छ त्यसबारे जनतालाई जानकारी गराउँछौँ ।’ 

प्रतिक्रिया