धनगढी । टीकापुर जग्गा प्रकरणको मुद्दामा बहस सकिएको छ । दुई सय ४९ जना प्रतिवादी रहेको उक्त मुद्दामा विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यद्वय न्यायाधीश तेजनारायणसिंह राई र न्यायाधीश रितेन्द्र थापाको इजलासमा बहस भएको हो ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बुुुधबार बहस सकिएको बताउँदै बिहीबार फैसला आउने जानकारी दिए । ‘बहस सकिएर बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ,’ रेग्मीले अग्रलेखलाई भने, ‘बिहीबार नै फैसला आउँछ होला ।’
टीकापुर बजार क्षेत्रको सरकारी जग्गा नक्कली कागज बनाएर व्यक्तिको नाममा ल्याएको आरोप छ । अख्तियारले २०६५ सालपछि नगर विकास समितिमा नियुक्त भएका पदाधिकारी, कर्मचारी, पार्टी प्रतिनिधि र पहुँचवालाहरू संलग्नताका विषयमा छानबिन गरेको छ । छानबिनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई सय ४९ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचार मुद्दा लाग्नेमध्ये १४ जना टीकापुर नगर विकास समिति र त्यसको जग्गा वितरण गर्ने कामसँग सम्बन्धित पदाधिकारी हुन् भने एक सय १० जना जग्गाधनी हुन् । जग्गा लिएकामध्ये सात जनाको निधन भइसकेको छ ।
अख्तियारले छ बिघा १९ कट्ठा १० धुर जग्गा हिनामिना गरेको कसुरमा प्रतिवादीविरुद्ध दुई करोड ५० लाख ६ हजार ८ सय ६९ रुपैयाँ बिगो, कैद र जरिवाना तथा व्यक्तिका नाममा लगिएको जग्गा जफतको मागदाबी गरेको थियो ।
प्रतिक्रिया