ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा तीन दिनदेखि के गर्दैछन् गृहमन्त्री लेखक ?

बुधबार ०५, मङि्सर २०८१ १२:०४

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणको विषयलाई लिएर काठमाडौँमा काँग्रेस–एमालेबीच सघन छलफल भइरहँदा गृहमन्त्री रमेश लेखक भने तीन दिनदेखि धनगढीमा व्यस्त छन् । सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि सोमबार बेलुकी धनगढी आइपुगेका गृहमन्त्री लेखक अहिले गृहजिल्ला कञ्चनपुर जाने तयारी छ ।

उनले मंगलबार धनगढीको डिभोटी होटेलमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गरेका थिए । धनगढी बसाइका क्रममा गृहमन्त्री लेखकले प्रदेश र जिल्लाका सुरक्षा अधिकारीहरुसँग छलफल गरेका छन् । त्यस्तै उनले आफ्नो पार्टीका नेताहरुसँग पनि भेटघाट गरिरहेका छन् ।

उनी आएदेखि धनगढी र आसपासका क्षेत्रको सुरक्षा व्यवस्था कडा छ । यहाँका चोकचोकमा प्रहरी खटाइएको छ । सुरक्षा बैठकका लागि सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला र प्रदेश प्रमुख पनि धनगढीमै छन् ।

सुरक्षा गोष्ठी मंगलबार सम्पन्न भएको छ । गृहमन्त्री लेखकले आज सुरक्षा निकायका प्रमुखलाई एक÷एक गरी भेटिरहेका छन् । ‘सिडिओ, जिल्लाका प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र अनुसन्धानका प्रमुखलाई गृहमन्त्रीज्यूले एकएक गरी भेटिरहनुभएको छ,’ गृहमन्त्री निकट काँग्रेसका एक नेताले भने । 

मंगलबार सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले साइबर अपराध, सीमा सुरक्षा, सीमा नाकामा हुने राजस्व चुहावट, लागूऔषध, आत्महत्या, सवारी दुर्घटना र विपद्जस्ता समस्यालाई न्यूनिकरण गर्न सुरक्षा निकाय दुरूस्त हुनुपर्ने बताएका थिए । आसन्न उपनिर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गर्न उनले निर्देशन पनि दिए ।

उनी आज महेन्द्रनगर गएर पार्टीको कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । भोलि पत्रकार सम्मेलन गरेर संघीय राजधानी काठमाडौं फर्किने तयारी रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 
     

  

प्रतिक्रिया