ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एनएनएसडब्ल्यूएले मनायो ३५औँ वार्षिकोत्सव तथा मुगा जयन्ती

आइतबार ०६, माघ २०८१ ०५:००

कञ्चनपुर । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को ३५ औँ वार्षिकोत्सव तथा मुगा जयन्ती सम्पन्न भएको छ । शनिबार एनएनएसडब्ल्यूए केन्द्रीय कार्यालयमा संस्थाको ३५ औँ वार्षिकोत्सव तथा मुगा जयन्ती सफलतापूर्वक सम्पन्न भएको हो । 

कार्यक्रममा स्वागत मन्तव्य राख्दै एनएनएसडब्ल्यूएका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक अशोक विक्रम जैरूले सन् १९९० मा कञ्चनजङ्घा साँस्कृतिक समूहको नामले गठन भएको संस्थाले देउसी भैलो खेलेर सङ्कलन गरेको रकमबाट दलित समूदायका गरिब तथा जेहेनदार बालिबालिकाहरूलाई छात्रवृत्ति तथा आपत-विपद्मा परेका व्यक्तिहरूलाई सहयोग गरेर सामाजिक कार्यको सुभारम्भ गरेको स्मरण गरे ।  

उनले संस्था अहिले समतामूलक समाज निर्माणका लागि सुदूरपश्चिम प्रदेशमा अग्रणी संस्थाको रूपमा स्थापित भएको बताए । कार्यकारी निर्देशक जैरूले विभिन्न आरोह(अवरोह साथै चुनौतीहरूको सामना गर्दै समाज रूपान्तरणका लागि ३५ वर्ष समर्पित गर्ने यो महत्त्वपूर्ण यात्रामा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग तथा सहकार्य गर्ने सम्पूर्ण दातृ निकाय, स्थानीय सरकार, समूदाय र सरोकारवाला निकायहरू प्रति  कृतज्ञता व्यक्त गरे । 

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिँह थापाले जातीय विभेदमा परेका समुदाय, अपाङ्गता भएका व्यक्ति, पछाडि परेका समुदाय, आरक्ष पीडित, मुक्तकमलरी, महिला, बालबालिका, विपदमा परेका समुदाय, एचआईभी संक्रमित र कुष्ठरोग प्रभावितहरूका लागि विकासमुखी कार्य गरी संस्थाले समाज रूपान्तरणमा महत्त्वपूर्ण ३५ वर्ष समर्पित गरेको बताए । मन्त्री थापाले संस्थाको आगामी योजनामा सहयोग गर्न प्रदेश सरकार सधैँ तत्पर रहने प्रतिवद्धता व्यक्त गर्दै संस्थाको आगामी आत्राको सफलताको कामना गरे । 

कार्यक्रममा प्रदेश सभा सदस्य बेलबहादुर राना मगर र पूर्व आर्थिक मामिला मन्त्री प्रकाश रावलले समाज रूपान्तरणमा संस्थाले गरेको कामको प्रशंसा गर्दै आगामी यात्राको सफलताको कामना गरेका थिए । 

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले सरकारले गर्न नसकेको काम एनएनएसडब्ल्यूएले गरेको बताए । उनले दोधारा चाँदनी नगरपालिकामा विपद् व्यवस्थापनको क्षेत्रमा संस्थाले महत्त्वपूर्ण काम गरेको बताए । 

कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख राम कुमारी राना, नेपाली काँग्रेस कञ्चनपुरका उपसचिव नाफुसिँह साउँद, लोकतान्त्रिक गैर सरकारी संस्था महासंघका अध्यक्ष गिरिराज शर्मा, संस्थाको कार्यसमिति पदाधिकारी तथा सदस्यहरू, संस्थाका कर्मचारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार साथै समाजसेवी तथा बुद्धिजीहरूको उपस्थिति रहेको थियो ।  

कार्यक्रममा संस्थाका कर्मचारीहरूले संस्थाको परिकल्पना, ध्येय, लक्ष्य र उद्देश्य समेटी तयार पारिएको स्वागत गीत प्रस्तुत गरेका थिए । साथै संस्थाको स्थापनाकाल देखिको घटनाक्रम समेटेर तयार पारिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो । 

 

प्रतिक्रिया