धनगढी । आइतबार सुदूरपश्चिम प्रदेश सरकारले तीन प्रादेशिक अस्पतालमा पदाधिकारी नियुक्त ग¥यो । प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्को निर्णयबाट सेती, लम्कीचुहा र जोगबुढा प्रादेशिक अस्पतालमा अध्यक्ष र सदस्यको नियुक्ति गरियो । सेती एक वर्षदेखि समितिविहीन थियो । लम्कीचुहा र जोगबुढा अस्पताललाई भने केही समयअघि मात्रै प्रदेश मातहत सञ्चालन गर्ने निर्णय भएको थियो ।
तर, लम्कीचुहा अस्पताल भने नगरपालिकाले प्रदेश सरकारलाई अहिलेसम्म पनि हस्तान्तरण गरेको छैन । नगरबाट हस्तान्तरण नहुँदै प्रदेश सरकारले विकास समिति गठन गरेपछि विवाद भएको छ । लम्कीचुहा अस्पतालमा लम्कीचुहा नगरपालिकाले एउटा छुट्टै बोर्ड गठन गरेको छ । ‘मेयरको अध्यक्षतामा यहाँ छुट्टै बोर्ड छ,’ बोर्डका सदस्य पहल शाहीले भने, ‘ आइतबार मात्रै बोर्डको बैठक बसेको थियो । अहिले आएर नगरबाट अस्पताल हस्तान्तरण नगर्दै प्रदेशले विकास समिति गठन गरेको जानकारीमा आएको छ ।’ लम्कीचुहा नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले अस्पताल हस्तान्तरण भएको विषयमा आफूलाई जानकारी नरहेको र अहिलेसम्म नगरपालिकाकै बजेटबाट अस्पताल सञ्चालन भइरहेको बताइन् ।
यता सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीका अनुसार अस्पताल प्रदेशबाट सञ्चालनको निर्णय भइसकेको र सम्झौता गर्न मात्रै बाँकी रहेको बताए । ‘नगरपालिकाकै अनुरोधमा प्रदेश सरकारले संघीय सरकारलाई प्रदेश मातहत सञ्चालनको अनुमति दिन अनुरोध गरेको थियो,’ सचिव रेग्मीले भने, ‘जेठमा संघीय मन्त्रिपरिषद् बैठकबाट १५ शय्याको लम्कीचुहा अस्पताल ५० शय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने निर्णय भइसकेको छ ।’ सचिव रेग्मीले कर्मचारी समायोजन लगायतका कार्य भने बाँकी रहेको बताए ।
सामाजिक विकास मन्त्रालयले अस्पतालमा कार्यरत करार कर्मचारीलाई आफ्नो मातहत ल्याउन प्रक्रिया बढाएको थियो । तर, नगरपालिकाले नै चासो नदेखाएको मन्त्रालयको तर्क छ । मन्त्रालयले नगरपालिकासंग अस्पताललाई प्रदेश मातहत सञ्चालन गर्न सम्झौता नै तयार पारेको छ । तर, हस्ताक्षर बाँकी छ ।
आइतबार मन्त्रीस्तरीय निर्णयबाट लम्कीचुहा प्रादेशिक अस्पतालको अध्यक्षमा रामबहादुर बिष्ट नियुक्त भएका छन् । उनी पूर्वशिक्षक हुन् । यस्तै अस्पताल समितिको सदस्यमा ससिरा शाही, धिरेन्द्र थापा, भीम थारु र हिमाल स्वार नियुक्त भएका छन् ।
प्रतिक्रिया