ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

विपिन जोशी सुरक्षित रहेको आशा जगाउने आधारहरु

मङ्गलबार ०८, माघ २०८१ ०५:४७

धनगढी । इजायल र हमास समूहबीच युद्धविराम भएसंगै पहिलो चरणमा रिहा हुने ३३ बन्धकको सूची सार्वजनिक भयो । तीमध्ये तीन इजरायली महिलालाई हमासले रिहा गरिसकेको छ । तर, ३३ बन्धकको सूचीमा नेपाली युवा विपिन जोशी परेनन् । जोशीलाई १६ महिनाअघि हमास समूहले नै बन्धक बनाएको भनिएको छ । तर, उनी रिहा हुने सूचीमा नपर्दा जोशी परिवार मात्र नभएर सिंगो नेपाल दुखी छ ।

पहिलो चरणमा रिहा हुने सूचीमा विपिन नपरे पनि युद्धविरामले उनी सुरक्षित नेपाल फर्किने आशा भने बढेको छ । हमासको बन्धक भनिएका कञ्चनपुरको भीमदत्तनगरका जोशी गाजा क्षेत्रमा सुरक्षित रहेको आधार थुप्रै छन् । विभिन्न पक्षको दाबीले पनि विपिन सुरक्षित रहेको बताउँछ । सोही कारण उनको घर फिर्ती हुने आशा पनि जागेको हो ।

पहिलो आधार
उनी सुरक्षित रहेको पहिलो आधार इजरायली डिफेन्स फोर्सले २०२३ नोभेम्बरमा जारी गरेको भिडियो हो । उक्त भिडियोमा गाजाको अल सिफा अस्पतालमा एक युवकलाई हमासका लडाकुले लैजाँदै गरेको दृश्य थियो ।

आकाशे रङको टिसर्ट, हाफपाइन्ट र चप्पलमा देखिएका ती युवक विपिन नै भएको पुष्टि परिवारले गरेको थियो । विपिनका बुवा महानन्द उक्त भिडियोमा देखिएका युवक विपिन नै भएको बताउँछन् । ‘भिडियोमा हमास लडाकुले विपिनलाई एक ठाउँबाट अर्को ठाउँ सार्दै गरेको देखिन्छ,’ उनले भने । 

दोस्रो आधार
विपिन सुरक्षित रहेको अर्को आधार बन्दी अवस्थामै मारिएका कुनै पनि बन्धकसँग विपिनको परिवारको डीएनए म्याच नहुनु पनि हो । ‘डीएनए परीक्षणका लागि परिवारका सदस्यको नमुना संकलन गरेर लगिएको थियो र कसैसंग मेल खाएको छैन,’ विपिनका बुवा महानन्दले भने ।

तेस्रो आधार
नेपालका लागि इजरायली राजदूत शमुलिक ए बासले ल्याएको खबरले पनि विपिनबारे आशा बढाउँछ । २० मंसिरमा राजदूत बासले जोशी जिवित रहेको र उनी चाँडै नेपाल फर्कने आशा व्यक्त गरे । ‘उनी जीवितै छन्,’ काठमाडौंमा  पत्रकारसँगको भेटमा नवनियुक्त राजदूत बासले भनेका थिए, ‘विपिन जीवितै रहेको कुरा सत्य हो । उनलाई गाजापट्टीको कुनै स्थानमा राखिएको सूचना पाएका छौँ ।’ जोशी जिवित रहेको सूचना अरबी मुलुकहरूको स्रोतबाट प्राप्त भएको उनको भनाइ थियो ।

चौथो आधार
परराष्ट्रमन्त्री आरजु राणा देउवाले विपिन सुरक्षित रहेको खबर प्राप्त भएको र रिहाइको पहल भइरहेको बताउँदै आएकी छिन् । विपिनबारे राजदूत वाससँग पनि परराष्ट्रमन्त्री देउवाले जानकारी लिएकी थिइन् । इजरायलका विदेशमन्त्री गेदिन सारलाई पनि फोन गरी आफूले विपिनको रिहाइबारे कुरा गरेको देउवाले जानकारी गराएकी छन् । 

देउवाले इजिप्टका विदेश मामिला, अध्यागमन र इजिप्टियन प्रवासी मामिलामन्त्री डा. बद्र अब्देल–अतीसँग पनि फोनवार्ता गरेकी छन् । फोनवार्ताको क्रममा उनले हमासको कब्जामा रहेका विपिनको रिहाइमा सघाउन आग्रह गरेकी थिइन् । मन्त्री राणाले कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग पनि फोनवार्ता गरेकी छिन् । मन्त्री  खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता थिए ।

परिवारका सदस्यमा पनि इजरायल–हमास युद्धविरामले विपिनको घर फिर्ती हुने आशा जागेको छ । विपिनका बुवा महानन्द भन्छन्, ‘विपिन फर्किन्छन् की भनेर बाटो हेर्दाहेर्दै १६ महिना पुगेको छ । छोराको सकुशल उद्धारका लागि गुहार गर्दागर्दै थाकिसकेका छौँ । अहिले भएको युद्धविरामले भने आशा जागेको छ ।’ 

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायअन्तर्गत स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत विपिन सिक्दै कमाउने कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । उनी इजरायल पुगेको २५ दिनमै हमास समूहले त्यहाँ आक्रमण गरेपछि विपिनलाई पनि सोही समूले बन्दी बनाएको भनिएको छ । सोही आक्रमणमा विपिनजस्तै इजरायल पुगेका सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको ज्यान गएको थियो । 
 

प्रतिक्रिया