ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
इजरायल–हमास दुस्मनीसँग थिएन साइनो

सुदूरपश्चिमका सातसहित १० नेपाली विद्यार्थी यसरी मारिएका थिए

सोमबार २७, असोज २०८२ ०३:१९

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायअन्तर्गत स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु २०२३ को सेप्टेम्बरमा इजरायल गए । लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत इन्टर्नको रुपमा इजरायल गएका थिए, नेपाली विद्यार्थी । 

उनीहरुलाई इजरायल पुगेको २५ दिन मात्रै भएको थियो । २०२३ कै अक्टोबर ७ को बिहान एक्कासी माथिबाट मिसाइलहरु जान थालेका थिए । आक्रमणमा घाइते भएका कैलालीको टीकापुरका धनबहादुर चौधरी भन्छन्, ‘थुप्रै बंकर हुन्छन् बोर्डर साइडमा । त्यहाँबाट हामी बंकरमा भाग्यौं । सुरुमा इजरायल नर्मल थियो । मिसाइल गइरहेको छ, केही हुँदैन जस्तो लाग्यो । एक घण्टापछि एक्कासी बाहिर गोलीबारीको आवाज आउन थाल्यो । वी आर नेपाली भन्दे दुई जना साथीहरु बाहिर निस्किए । तिनीहरु त्यहीँ मारिए ।’


गोलीबारीको दुई मिनेटपछि हमासले दुईवटा ग्रिनेड बंकरभित्र फालेको थियो । त्योमध्ये एक ग्रिनेड विपिन जोशीले बाहिर फालिदिएका थिए । जोशी सोही दिनदेखि हमासको कब्जामा रहेको बताइएको थियो । आज मात्रै इजरायली सेनाले विपिन जीवित रहेको प्रमाण फेला नपरेको जानकारी परिवारका सदस्यलाई गरेको छ । 

उक्त आक्रममा इजरायल–हमास दुस्मनीसँग साइनो नै नभएका सुदूरपश्चिमका सातसहित १० नेपाली विद्यार्थी मारिएका थिए । हमासको आक्रमणमा कैलाली घोडाघोडीका नारायणप्रसाद न्यौपाने, कैलाली बौनियाका आशिष चौधरी, दार्चुला लेकमका दीपेशराज विष्ट, दार्चुला मालिकार्जुनका लोकेन्द्रसिंह धामी, बझाङ जयपृथ्वीका गणेशकुमार नेपाली, धनुषा सपाहीका आनन्द साह, सुनसरी मधुवनका राजेशकुमार स्वर्णकार, डोटी पचनालीका राजन फुलारा, डोटीकै लमिखालका पदम र सल्यान सारदाका प्रवेश भण्डारीको मृत्यु भएको थियो । अरु चार घाइते उपचारपछि नेपाल फर्किएका थिए । 

१७ जना नेपाली विद्यार्थी इजरायलको सेदोत नेगेभ क्षेत्रमा बस्थे । यीमध्ये अधिकांश सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायअन्तर्गत (टीकापुर बहुमुखी क्याम्पस) का थिए । सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत कुल दुई सय ६५ विद्यार्थी इजरायल गएका थिए । तीमध्ये ४९ जना सुदूरपश्चिम विश्वविद्यालयका थिए ।
 

प्रतिक्रिया